२५ फाल्गुण, काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र सुरक्षा चुनौतीका बीच त्यहाँ रहेका ५४ हजारभन्दा बढी नेपाली नागरिकले सरकारको सम्पर्कमा आएर आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् ।
इरानमाथि इजरायल र अमेरिकाको मिसाइल आक्रमणपछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा आइतबार साँझसम्म ५४ हजार ७ सय ८६ नेपालीले आफ्नो अवस्थाबारे जानकारी गराएका हुन् । पश्चिम एसियाली मुलुकहरूमा कार्यरत करिब १७ लाख २९ हजार नेपालीको सुरक्षालाई लिएर चिन्ता बढिरहेका बेला सरकारले सम्भावित उद्धार र सहायताका लागि यो तथ्याङ्क सङ्कलन सुरु गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार ती क्षेत्रमा रहेका नेपाली नियोगहरू नागरिकको सुरक्षा र हितका लागि निरन्तर क्रियाशील रहेका छन् । अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका लागि मन्त्रालयले ुइमरजेन्सी एक्सन रूमु मार्फत समन्वय गरिरहेको छ भने दूतावास तथा महावाणिज्य दूतावासहरूले राहदानी लगायतका अत्यावश्यक सेवाका लागि फोन वा इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेका छन् । युद्धका कारण कतिपय स्थानमा हवाई उडानहरू प्रभावित भए तापनि संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र ओमानबाट सीमित रूपमा उडानहरू पुनः सञ्चालनमा आएकाले स्वदेश फर्कन चाहनेहरूले ती सेवा उपयोग गर्न सक्ने जानकारी दिइएको छ।
वर्तमान संकटपूर्ण घडीमा मन्त्रालयले सबै नेपालीलाई संयमित र सजग रहन विशेष अपिल गरेको छ । स्थानीय सरकार र नेपाली नियोगहरूले जारी गरेका सुरक्षा सावधानीका उपायहरू पालना गर्न तथा कानुन विपरीत हुने गरी संवेदनशील फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड र साझा नगर्न सचेत गराइएको छ । कुनै पनि समस्या आइपरेमा तुरुन्तै सम्बन्धित मुलुकमा रहेका नेपाली नियोग वा मन्त्रालयको आपत्कालीन सम्पर्क नम्बरहरूमा सम्पर्क गरी आफ्नो अवस्थाबारे जानकारी गराउन परराष्ट्रले अनुरोध गरेको छ ।

















