Logo

२५ फाल्गुण, काठमाडौं । ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा देखिएको एक रोचक र कानुनी जटिलताको अन्ततः समाधान भएको छ ।

प्रत्यक्षतर्फको गणनाका क्रममा ुहराएकोु भनिएका केही मतपत्रहरू समानुपातिकतर्फको मतपेटिका (ढ्वाङ) भित्र भेटिएपछि केही समय अन्योल सिर्जना भएको थियो । सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले समानुपातिकतर्फको ढ्वाङ खोल्ने क्रममा प्रत्यक्षतर्फका मतपत्रहरू फेला परेको पुष्टि गर्नुभएको छ । यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसकेको र राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलले नेपाली कांग्रेसका कुमार लुइँटेललाई मात्र ५ मतको झिनो अन्तरले पराजित गरिसकेकाले यी भेटिएका मतपत्रले नतिजा उल्टाउन सक्ने चर्चा चलेको थियो ।

यद्यपि, कानुनी रूपमा यी भेटिएका मतपत्रहरूको गणना नहुने निश्चित भएको छ । निर्वाचन निर्देशिका र मतगणना सुरु हुनुअघि राजनीतिक दलहरूबीच भएको सर्वदलीय सहमति अनुसार प्रत्यक्षको मतपत्र समानुपातिकको बाकसमा भेटिएमा त्यसलाई स्वतः बदर मानिने प्रावधान छ । कांग्रेस उम्मेदवार लुइँटेलले सुरुमा १८८ मतको फरक देखिएको भन्दै पुनः मतगणनाको माग राखे पनि पछि रातोपाटीसँग कुरा गर्दै आफूहरूले नै मुचुल्कामा हस्ताक्षर गरेकाले ती मतपत्र बदर भइसकेको स्वीकार गर्नुभएको छ । उम्मेदवार र निर्वाचन अधिकृत दुवैले पूर्वसहमति र कानुनी प्रक्रिया बमोजिम नै अघि बढ्ने बताएपछि अब ओखलढुंगाको परिणाममा कुनै कानुनी फेरबदल नहुने देखिएको छ ।

हाल ओखलढुंगामा ती विवादास्पद मतपत्रहरूलाई बदरको सूचीमा राखेर समानुपातिकतर्फको मतगणना कार्यलाई निरन्तरता दिइएको छ । यस घटनाले निर्वाचनका बेला मतदाता झुक्किएर फरक बाकसमा मत खसाल्दा उनीहरूको मत खेर जाने जोखिमलाई पुनः उजागर गरेको छ । प्रत्यक्षतर्फको परिणाम घोषणा भइसकेकाले र निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय निर्णयकै आधारमा गणना अगाडि बढाएकाले अब भेटिएका मतपत्रले निर्वाचनको घोषणा भइसकेको नतिजालाई कुनै असर नगर्ने निर्वाचन आयोगले प्रष्ट पारेको छ ।


सम्बन्धित समाचार