२६ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फ एक करोड दुई लाख मत गणना गरिएको छ । अहिलेसम्मको सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख १० हजार मत प्राप्त गरेको छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ६३ हजार र तेस्रो स्थानमा रहेको नेकपा एमालेले १३ लाख ८२ हजार मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४७ हजार मत पाउँदा श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यी छ वटै पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड कटाउने पक्का भएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकमा करिब १ करोड १० लाख मत खसेको थियो । अब १० लाख मत गन्न बाँकी छ । आज मंगलबार बेलुकासम्म सबै मत गणना सक्ने आयोगको लक्ष्य छ ।

















