२६ फागुन, राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दन्तरोग (डेन्टल) शाखाअन्तर्गतको बहिरङ्ग (ओपिडी) सेवा प्रवाह हुने भवनमा सोमबार भीषण आगलागी भएको छ। विद्युत् सर्ट भई सल्किएको आगोले अस्पतालको डेन्टल ओपिडी र रेकर्ड कोठामा रहेका लाखौँ मूल्य बराबरका उपकरण तथा महत्त्वपूर्ण कागजातहरू खरानी बनाएको छ।
डेन्टल विभागकी चिकित्सक डा. दिपाली झाका अनुसार बिरामीको उपचार भइरहेकै समयमा डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट भएर आगो सल्किएको थियो। “उपचार चलिरहेका बेला अचानक कम्प्रेसरबाट आगो निस्कियो र हेर्दाहेर्दै अन्य उपकरणहरूमा फैलियो,” डा. झाले जानकारी दिइन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्राका अनुसार आगलागीबाट तीन थान डेन्टल सेट, दुई थान कम्प्रेसर, दुई थान डेस्क, तीन थान विशेष डेन्टल कुर्सी, एक थान फ्रिज र सात वटा पङ्खा पूर्ण रूपमा नष्ट भएका छन्। “प्रारम्भिक अनुमान अनुसार अन्य उपकरणहरूसहित करिब २५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ,” मेसु मिश्राले बताए। आगलागीका कारण ओपिडीका पुराना रेकर्ड र महत्वपूर्ण प्रशासनिक कागजातहरू समेत जलेर नष्ट भएका छन्।
आगो लाग्ने बित्तिकै अस्पतालमा भागदौड मच्चिए पनि सुरक्षाकर्मी र स्थानीयको सक्रियताका कारण ठुलो मानवीय क्षति हुन पाएन। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीय बासिन्दा र राजविराज नगरपालिकाको वारुणयन्त्र (दमकल) को सहयोगमा आगो नियन्त्रणमा लिएका थिए।
यसैबिच, आगलागीको खबर सार्वजनिक भएलगत्तै सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य रामजी यादवले अस्पताल पुगेर घटनाको जानकारी लिएका छन्। उनले अस्पताल प्रशासनसँग क्षतिको विस्तृत विवरण बुझ्दै सेवा प्रवाहलाई पुनः सुचारु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्। अस्पतालले तत्कालका लागि डेन्टल सेवा प्रभावित हुन सक्ने सङ्केत गरेको छ।

















