Logo

२६ फागुन,रौतहट। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा दुई महिला सहित ६ जनामाथि सामूहिक आक्रमण भएको छ। आक्रमणबाट दुई महिला सहित ६ जना घाइते भएका छन्।

तर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा प्रहरीले उल्टै पीडितमाथि नै अन्याय गरेको आरोप लगाइएको छ। विशेष गरी इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको कार्यशैलीप्रति स्थानीयले गम्भीर प्रश्न उठाएका छन्। उनीमाथि जातीय प्रभावमा परेर पटक–पटक प्रहरी आचरणविपरीत काम गरेको आरोपसमेत लागेको छ।

घटना यही फागुन १९ गते, होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि भएको बताइएको छ। घटनाको एक सातासम्म पनि प्रहरीले कुनै कारबाही नगरेपछि पीडित पक्षले पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले सामान्य विवादको क्रममा स्थानीय भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव लगायतको समूह लाठी–भाटा लिएर फागुन १९ गते साँझ करिब ६ बजे घरभित्र पसेर कुटपिट गरेको आरोप लगाएका छन ।

उनका अनुसार सो समूहले घरभित्र प्रवेश गरेर श्रीमती, छोरीसहित ६ जनालाई मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेका थिए। साथै घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उनले बताएका छन ।

कुटपिटबाट ५५ वर्षीय बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती ५० वर्षीया गायत्री देवी रामको शरीरभरि निलडाम देखिएको पत्रकार सम्मेलनमै देखाइएको थियो।

त्यस्तै उनका छोरा राजकुमार रामको टाउकोमा तिनवटा टाका  लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर ७ टाँक लागेको ,ललन राम चमारको अनुहार र शरीरभरि निलडाम देखिएको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको तथा शरीरका विभिन्न भागमा घाउ–चोट देखिएको पीडित पक्षले जनाएको छ।

पीडितका अनुसार फागुन १९ गते साँझ करिब ५ बजे दुई पक्षबीच सामान्य भनाभन भएको थियो। सो क्रममा विपक्षी समूहले बिर्जा रामका छोरा राजकुमार रामलाई घरभन्दा केही पर कुटपिट गरेका थिए। त्यसक्रममा प्रतिवाद गर्दा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ।

यसको करिब एक घण्टापछि बेलुकी ६ बजे विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको पीडित बिर्जा राम चमारले बताएका छन ।

उनका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय सन्तपुरबाट आएको प्रहरी टोलीले कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा आफू र आफ्नो छोरालाई नै पक्राउ गरी हथकडी लगाएर लगेको थियो। उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको आरोप छ।

स्थानीय समाजसेवी तथा फतुवा विजयपुर नगरपालिकाका मेयरका प्रत्यक्षदर्शी विजय यादवका अनुसार कुटपिट गर्नेहरूलाई पक्राउ गर्नुको सट्टा पीडितलाई नै पक्राउ गरेपछि उनले इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरेर छोड्न आग्रह गरेका थिए।

“तर उहाँले कुरा नसुनेपछि मैले रौतहटका प्रहरी प्रमुख (एसपी) लाई फोन गरेँ, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई थुनामुक्त गरिएको हो,” उनले बताएका छन ।

पीडितका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता गरिएको छैन। आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुरमा गएर जाहेरी दर्ताको आग्रह गर्दा इन्स्पेक्टर यादवले वास्ता नगरेको र उल्टै थर्काउने गरेको आरोप छ।

पत्रकार सम्मेलनमा पीडित बिर्जा राम चमारले आँसु झार्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।

यता इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशीलता भएकाले उनीहरूलाई पक्राउ गरिएको बताएका छन्। पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको जानकारी पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई छाडिएको उनले बताए।

निर्वाचनका कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको स्वीकार गर्दै उनले घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले कुरा गर्दै घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएको बताए।

“पीडितले न्याय पाउनेछन् र दोषीलाई कारबाही हुनेछ,” उनले भनेका

छन ।

ईन्स्पेक्टर सुरेन्द्र यादव ईलाका प्रहरी कार्यालय बिजयपुरको प्रमुखको रूपमा आएदेखिनै सो क्षेत्रमा अराजकता बढेको स्थानीयहरुले गुनासो गरेका छन ।

केहि समय अघि ईन्स्पेक्टर यादव कै मिलोमतोमा बिजयपुर थानाक्षेत्र अन्तर्गत लाखौंको कौडा जुवा खेलाउने गतेको थियो पछि स्थानियले बिरोध गरेपछि रोकिएको थियो ।

उनको कार्यकालमा सानो सानो घटना लाई ठुलो रुप बनाएर आर्थिक चालखेल भएको र विभिन्न राजनितिक प्रभावमा परेर दलित परिवार जस्तै दर्जनौं मानिस लाई न्याय बाट बन्चित गराइएको स्थानीयहरुले गुनासो गर्दै आएका छन ।


सम्बन्धित समाचार