२६ फाल्गुण, काठमाडौं । बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्रमध्ये ३१ सीटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित निकाल्दै परम्परागत शक्तिहरूलाई ‘क्लिन स्वीप’ गरिरहँदा सिन्धुपाल्चोक–२ मा भने एउटा भिन्न दृश्य देखियो ।
काठमाडौंका १० वटै क्षेत्रदेखि चितवन, ललितपुर र मकवानपुरसम्म रास्वपाको लहरले दिग्गज नेताहरूलाई किनारा लगाउँदा नेकपाका नेता युवराज दुलाल ‘शरद’ भने बागमतीभरि आफ्नो पार्टीको अस्तित्व जोगाउने एकमात्रै अपराजित योद्धाका रूपमा उदाएका छन् । रास्वपामय बनेको बागमती प्रदेशमा नेकपाको बीउ जोगाउँदै प्रत्यक्षतर्फ २१ हजार ६९९ मतका साथ विजयी भएका दुलालले यो निर्वाचनमा आफ्नो व्यक्तिगत लोकप्रियता र विकासप्रेमी छविको कडा परीक्षा उत्तीर्ण गरेका हुन् ।
‘बाकसभरी विकास’ को सफल परीक्षण
दुलालको यो जित राजनीतिक अंकगणित मात्र होइन, उनले अघि सारेको ‘बाकसभरी मत, बाकसभरी विकास’ भन्ने नारामा मतदाताले देखाएको विश्वास पनि हो । यसअघि बागमती प्रदेशको सामाजिक विकास र भौतिक पूर्वाधार मन्त्रीका रूपमा सडक सञ्जाल र विकासका ठूला आयोजना भित्र्याएका उनलाई स्थानीयले विकासका संवाहकका रूपमा स्विकारेको नतिजाले देखाउँछ । अचम्मको कुरा त के छ भने, सिन्धुपाल्चोक–२ मा समानुपातिकतर्फ रास्वपा पहिलो र दुलालको पार्टी नेकपा चौथो स्थानमा खुम्चिँदा पनि प्रत्यक्षतर्फ भने मतदाताले पार्टीभन्दा माथि उठेर दुलालको व्यक्तित्वलाई रोजेका छन् ।
युद्धकालीन कमाण्डरदेखि संसदको यात्रासम्म
तत्कालीन जनयुद्धका क्रममा काठमाडौंको थानकोट आक्रमण जस्तो जटिल सैन्य कारबाहीको सफल नेतृत्व गर्ने ‘ब्रिगेड सहायक कमाण्डर’ का रूपमा चिनिने दुलालले चुनावी मैदानमा पनि उस्तै कुशलता देखाएका छन् । सिन्धुपाल्चोकको माओवादी राजनीतिमा ‘तीन श (शरद, सुबोध र सरल) को वर्चस्व रहे पनि यस पटक रास्वपाको लहरमा अरु पराजित हुँदा शरद (युवराज) ले मात्रै आफ्नो गढ जोगाउन सफल भए ।
पार्टीका अर्का प्रभावशाली नेता माधव सापकोटा ‘सुबोध’ क्षेत्र नम्बर १ मा रास्वपासँग पराजित भइरहँदा दुलालले भने प्रतिकूल लहरका बीच पनि सिन्धुपाल्चोक–२ मा नेकपाको झण्डा फहराइराखे ।
बागमतीमा नेकपाको साख जोगाउने एक मात्र पात्र
पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री प्रकाशशरण महत र एमालेका प्रभावशाली नेता महेश बस्नेत जस्ता हेभीवेटहरू रास्वपाका उम्मेदवारसँग पराजित भइरहँदा दुलालको जितले विशेष अर्थ राखेको छ । सिन्धुपाल्चोक–२ मा रास्वपा चौथो स्थानमा सीमित हुनु र दुलालले कांग्रेस तथा एमालेका उम्मेदवारलाई पछि पार्नुले उनको स्थानीय पकड र रणनीतिक चातुर्यलाई पुष्टि गर्दछ । बागमती प्रदेशभर नेकपाका अन्य सबै उम्मेदवार पराजित भइरहँदा युवराज दुलाल मात्रै यस्ता पात्र बनेका छन्, जसले आफ्नो दलको बिरासतलाई संघीय संसदसम्म पुर्याउने सफलता प्राप्त गरे ।

















