Logo

फाईल फोटो

२६ फागुन,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पटेर्वा सुगौली–१ सोनवर्षाबाट गाँजा लोड गरेर जाँदै गरेको उक्त ट्याक्टरलाई प्रहरीले पछ्याउँदै गएको थियो। जगरनाथपुर गाउँपालिका–४ पुगेपछि तस्करहरूले गाँजासहितको ट्याक्टर छाडेर फरार भएका प्रहरी निरीक्षक अधिकारीले बताए।

विशेष सूचनाका आधारमा भारततर्फ गाँजा लैजाँदै गरिएको आशंकामा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा सोनवर्षाबाट लोड गरिएको गाँजासहित ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टरका धनी र गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको आशंका गरिए पनि उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। बरामद गाँजासहितको ट्याक्टर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने फरार रहेका चालक, धनी र संलग्न तस्करहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार