२६ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका लागि मधेस प्रदेश यसपटक राजनीतिक मरुभूमि सावित भएको छ ।
कुनै समय कांग्रेसको अभेद्य गढ मानिने मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये पार्टीले केवल एक सिटमा मात्र जित निकाल्न सफल भएको छ । रौतहट–२ बाट निर्वाचित फिरदोश आलमबाहेक मधेसभरि कांग्रेसका अन्य सबै उम्मेदवार पराजित भएका छन् । पार्टीको बिरासत जोगाउन र मधेसमा नयाँ उत्साह भर्न भन्दै सभापति गगनकुमार थापा आफैँ सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिए पनि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले भारी मतान्तरले पराजित गरेपछि कांग्रेसलाई ठूलो नैतिक र राजनीतिक धक्का लागेको छ ।
गगन थापाकै क्षेत्रमा रास्वपाको दबदबा
पार्टी सभापति थापा उम्मेदवार बनेको सर्लाही–४ को नतिजाले कांग्रेसभित्र थप चिन्ता थपिदिएको छ । प्रत्यक्षतर्फ अमरेशकुमार सिंहसँग पराजित भएका थापाले २२ हजार ८३१ मत प्राप्त गर्दा समानुपातिकतर्फ पार्टीको अवस्था झनै नाजुक देखियो । सो क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ ४५ हजार ५१६ मत ल्याउँदा कांग्रेसले केवल १८ हजार ८१ मतमा चित्त बुझाउनुपरेको छ । यो तथ्याङ्कले मधेसी मतदाताको मन कांग्रेसबाट कति टाढा पुगिसकेको छ भन्ने प्रष्ट पार्छ। मधेस आन्दोलनपछि निरन्तर ओरालो लागेको कांग्रेसको प्रभाव यसपटकको निर्वाचनमा पुग्दा लगभग शून्यको अवस्थामा पुगेको विश्लेषण गर्न थालिएको छ ।
समानुपातिक मतमा पनि रास्वपाको ‘क्लिन स्वीप’
प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिक मतमा पनि मधेस प्रदेशमा रास्वपाले कांग्रेसलाई निकै पछाडि पारेको छ । मधेसभरि रास्वपाले ११ लाख १८ हजार २२८ मत प्राप्त गर्दा कांग्रेसको पोल्टामा जम्मा २ लाख ५१ हजार ८२२ मत मात्र परेको छ । २०७९ को निर्वाचनमा गठबन्धनको सहारामा ७ सिट जितेको कांग्रेस यसपटक एक्लै भिड्दा एउटा सिटमा सीमित हुनु र समानुपातिक मतमा समेत ठूलो गिरावट आउनुले पार्टीको परम्परागत जनाधार पूर्णतः भत्किएको संकेत गर्दछ । मधेसको यो नतिजाले कांग्रेसको आगामी राजनीतिक दिशा र नेतृत्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

















