Logo

 २६ फागुन,काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले दायर गरेको व्यक्तित्व अधिकारसम्बन्धी मुद्दामा बम्बई उच्च अदालतले उनको पक्षमा फैसला सुनाएको छ।

अदालतले अभिनेत्रीको अनुमति बिना उनको नाम, स्वर, तस्बिर वा व्यक्तित्व प्रयोग गरी बनाइएका सबै सामग्री हटाउन आदेश दिएको हो। शेट्टीले विभिन्न वेबसाइट, सामाजिक सञ्जाल र एआई प्लेटफर्महरूले उनको तस्बिर र पहिचान दुरूपयोग गर्दै मोर्फ गरिएका तस्बिर, भिडियो र अन्य सामग्री सार्वजनिक गरेको भन्दै निवेदन दिएकी थिइन्।

सुनुवाइका क्रममा अदालतले ती सामग्रीहरूलाई ‘अत्यन्त आपत्तिजनक र अस्वीकार्य’ ठहर गर्दै तुरुन्तै हटाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शिल्पाकी वकिल सना रईस खानका अनुसार, बिना अनुमति कुनै व्यक्तिको नाम, छवि वा प्रतिष्ठा प्रयोग गरी व्यावसायिक फाइदा लिनु उनका अधिकारमाथि आक्रमण हुने भएकाले कानुनी कारबाही गरिएको हो।

यसअघि बलिउडकर्मी काजोल, ऐश्वर्या राय बच्चन, शत्रुघ्न सिन्हा, अभिषेक बच्चन र सलमान खान लगायतले पनि व्यक्तित्व अधिकारको उल्लंघन रोक्न अदालतबाट राहत पाइसकेका छन्।

शिल्पाले आफ्नो व्यक्तित्व अधिकारको सुरक्षाका लागि नोभेम्बर २०२५ मा बम्बई उच्च अदालतमा निवेदन दिएकी थिइन्।


सम्बन्धित समाचार