Logo

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच लामो समयदेखि जारी विवाद अन्ततः सहमतिमा टुङ्गिएको छ ।

मंगलबार एन्फा मुख्यालयमा भएको निर्णायक छलफलपछि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी ३० चैतदेखि सुरु गर्ने सहमति भएको हो । खेलाडी संघले राखेका विभिन्न मागहरूमा एन्फा सकारात्मक देखिएपछि दुई पक्षबीच सम्झौता भएको हो भने आइतबारदेखि एन्फा कम्प्लेक्समा लगाइएको ताला पनि मंगलबार नै खोलिएको छ । लिगको भविष्यलाई लिएर खेलाडीहरूले गरेको सडक संघर्ष र दबाबपछि एन्फा आधिकारिक मिति तोक्न बाध्य भएको हो ।

लिगको कार्यतालिका र संशोधनको तयारी

एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रका अनुसार खेलाडी संघसँगको सहमति बमोजिम चैत ३० गते लिगको उद्घाटन खेल खेलाइनेछ । हाल जारी रहेको राष्ट्रिय लिगको तालिकामा केही संशोधन गरेर ‘ए’ डिभिजन लिगका लागि समय व्यवस्थापन गर्ने एन्फाको योजना छ । तालिकाअनुसार चैत ३० गते एउटा औपचारिक उद्घाटन खेल खेलाइने र वैशाख २० गतेदेखि मात्र लिगका बाँकी खेलहरू नियमित रूपमा सञ्चालन गरिनेछ । यसअघि २०७९ सालमा पछिल्लो संस्करण सम्पन्न भएयता करिब एक हजार दिनभन्दा बढी समयदेखि शीर्ष डिभिजनको लिग हुन सकेको थिएन ।

खेलाडीको संघर्ष र क्लबको अन्योल

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको अन्योल र सडक संघर्षपछि मात्र एन्फाले लिग गराउने ठोस प्रतिबद्धता जनाएको बताए । यसअघि पटक–पटक आश्वासन दिए पनि मिति नतोकिएका कारण आफूहरू तालाबन्दी गर्ने स्थितिमा पुगेको उनले स्पष्ट पारे। वार्तामा खेलाडीहरूको तर्फबाट राष्ट्रिय टोलीका सदस्यहरू विकेश कुथु, रोहित चन्द र अन्जन विष्ट लगायतको सहभागिता थियो। यता थ्रीस्टार र एपीएफ क्लबमध्ये कुन टोली ‘ए’ डिभिजनमा रहने भन्ने विवादको विषयमा भने आधिकारिक फैसला आएपछि मात्र अन्तिम निर्णय हुने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार