२७ फागुन, काठमाडौँ । काठमाण्डौ उपत्यकामा केही दिनयता वायु प्रदूषण निकै बढेको छ । मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म पानी नपर्दा, मौसम धुम्मिँदा प्रदूषण बढेकोले प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गरेका छन् ।
आज बिहान ७ बजे काठमाण्डौमा एक्यूआई १७७ रहेको छ । हिजो एक्यूआई २०० भन्दा माथि थियो । एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । १०० देखि १५० ‘अस्वस्थ’ मानिन्छ जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
हावा चलेमा, पानी परेमा मौसम सफा भएसँगै प्रदूषण कम हुन्छ । तर तत्काल धुम्म मौसम खुल्ने सम्भावना छैन । विभागका महानिर्देशक सुवेदीले वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् ।

















