२७ फाल्गुण, काठमाडौँ । नेपाल राष्ट्र बैंकको नेतृत्व तहमा दुई महत्त्वपूर्ण पद रिक्त भएसँगै नयाँ डेपुटी गभर्नर चयनको सरगर्मी ह्वात्तै बढेको छ ।
पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरी आइतबारदेखि नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै रिक्त भएका यी पदहरूमा अब को पुग्ला भन्ने विषयले वित्तीय क्षेत्रमा चर्चा पाएको हो । नेपाल राष्ट्र बैंक ऐनको प्रावधानअनुसार गभर्नरको सिफारिसमा सरकारले कार्यकारी निर्देशकमध्येबाटै डेपुटी गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी बाध्यता रहेका कारण अहिले बैंकभित्रका वरिष्ठ अधिकारीहरूबीच आन्तरिक प्रतिस्पर्धा र लबिइङ तीव्र बनेको छ ।
वर्तमान गभर्नर डा.विश्व पौडेलले बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशकहरूमध्येबाट कार्यक्षमता, वरिष्ठता र विशिष्टताका आधारमा रिक्त पदको दोब्बर अर्थात् चार जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्नेछ । डेपुटी गभर्नरका लागि योग्य उम्मेदवारहरूको सूचीमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल र विश्रुत थापादेखि लिएर डा.सत्येन्द्र तिमिल्सिना र रामशरण खरेलसम्मका अनुभवी अनुहारहरू रहेका छन् । १८ जनाकै योग्यता पुग्ने भए पनि गभर्नरले गर्ने सिफारिस र सरकारको राजनीतिक रुचिबीचको तालमेलले नै आगामी नेतृत्वको टुंगो लगाउने निश्चित छ ।
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको र निर्वाचनपछि नयाँ राजनीतिक समीकरण बन्ने क्रममा रहेकाले यी दुई पदको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एकातिर बैंकको स्वायत्तता जोगाउनुपर्ने चुनौती छ भने अर्कोतिर सरकारसँग समन्वय गर्न सक्ने कुशल प्रशासकको आवश्यकता छ । योग्य ठहरिएका १८ जना कार्यकारी निर्देशकहरूमध्येबाट कस्ता पात्रहरूले गभर्नरको मन जितेर बालुवाटारको ‘ग्रिन सिग्नल’ पाउँछन् भन्ने विषय अबको केही दिनभित्रै स्पष्ट हुनेछ ।

















