Logo

२७ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नयाँ सरकार निर्माण र शक्ति बाँडफाँटको गृहकार्यले तीव्रता पाएको छ ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच भावी सत्ता समीकरण र मन्त्रिमण्डलको स्वरूपबारे निरन्तर संवाद भइरहेको छ । सभापति लामिछाने अस्वस्थताका कारण केही समय घरमै आराम गरिरहेका भए पनि वरिष्ठ नेता शाहसँग उनको डिजिटल माध्यमबाट नियमित परामर्श भइरहेको रास्वपा सचिवालयले जनाएको छ । दुई नेताबीचको यो समन्वयलाई नयाँ सरकार गठनको पूर्वसन्ध्यामा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र शाहले आफ्नो कार्यशैलीलाई सुहाउँदो र नतिजामुखी ‘ड्रिम टिम’ निर्माण गर्ने तयारी थालेका छन् । बालेन निकट स्रोतका अनुसार मन्त्री छनोटमा कुनै राजनीतिक भागबन्डा वा ‘लिने–दिने’ सम्झौता हुने छैन, बरु प्रधानमन्त्रीलाई काम गर्न ‘कम्फर्टेबल’ हुने गरी काबिल र विषयविज्ञ सांसदहरूलाई जिम्मेवारी दिइनेछ । पार्टीका नेताहरूले मन्त्री बन्नका लागि कुनै पनि प्रकारको दौडधुप वा ‘मिडिया ट्रायल’ आवश्यक नरहेको र प्रधानमन्त्री स्वयंले नै सांसदहरूको योग्यता र क्षमताको मूल्यांकन गरी आफ्नो क्याबिनेट चयन गर्ने स्पष्ट पारेका छन्। यसले परम्परागत राजनीतिको मन्त्री छनोट प्रक्रियालाई चुनौती दिने सङ्केत गरेको छ ।

संवैधानिक प्रक्रियाअनुसार निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठनको बाटो खुल्नेछ । रास्वपाले चैत ५ गतेसम्ममा आफ्नो संसदीय दलको नेता चयन गर्ने आन्तरिक कार्यतालिका बनाएको छ, जसमा वरिष्ठ नेता बालेन शाह निर्विकल्प देखिएका छन् ।

संविधानको धारा ७६ (१) बमोजिम बहुमतप्राप्त दलको नेताका रूपमा बालेनलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भइरहँदा वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले समेत चैत ५ गतेभित्रै नयाँ सरकारलाई मार्गप्रशस्त गर्ने संकेत सुरक्षा निकायहरूलाई दिइसकेका छन् । यससँगै अबको एक साताभित्रै मुलुकले नयाँ नेतृत्व र नयाँ कार्यदिशासहितको सरकार पाउने निश्चित देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै