Logo

२७ फाल्गुण, काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा मंगलबार राति भीषण आगलागी हुँदा पार्किङमा राखिएका ६ वटा बसमा ठूलो क्षति पुगेको छ ।

राति साढे ९ बजेतिर सुरु भएको आगोले तीनवटा बसलाई पूर्ण रूपमा खरानी बनाएको छ भने अन्य तीनवटा बसमा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को १ ख ६२७४ नम्बरको कृष्ण बस, कन्काइ यातायातको प्र. १–०१–००१ ख ४०३७ र पाथिभरा दर्शनको बा ४ ख ५७५९ नम्बरको बस पूर्ण रूपमा जलेर नष्ट भएका हुन् । आगलागीको खबर प्रहरीलाई करिब १० बजे मात्र प्राप्त भएपछि तत्काल नियन्त्रणको प्रयास गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र सीसीटीभी फुटेजका आधारमा यो घटना कुनै मानवीय हस्तक्षेप वा शंकास्पद गतिविधिभन्दा पनि प्राविधिक कारणले भएको देखिएको छ । डीएसपी चन्द्र खड्काका अनुसार को १ ख ६२७४ नम्बरको बसबाट आगो सल्किन सुरु भएको थियो, जुन बस एक महिनाअघि पनि गुडिरहेकै अवस्थामा आगलागीको चपेटामा परेको थियो । मंगलबार राति ९ बजेतिर मात्र पार्किङका लागि ग्यारेजमा हुलिएको उक्त बसभित्र तार सर्ट (विद्युत् चुहावट) भएर आगो फैलिएको र नजिकै रहेका अन्य बसहरूमा पनि सल्किन पुगेको प्रहरीको ठम्याइ छ ।

आगलागीबाट सुपर मादेन र अन्य दुईवटा बसमा पनि आंशिक क्षति पुगेको छ । ग्यारेजमा सवारी साधनहरू बाक्लो गरी पार्किङ गरिएको र ढिलो गरी मात्र जानकारी प्राप्त भएकाले क्षति बढी भएको बताइएको छ । विराटनगर–धरान रुटमा चल्ने सार्वजनिक यातायातका साधनहरू यसरी जलेर नष्ट भएपछि व्यवसायीहरू ठूलो आर्थिक नोक्सानीमा परेका छन् । प्रहरीले यस घटनालाई सामान्य प्राविधिक त्रुटि माने पनि पटक–पटक एउटै बसमा आगलागी हुनुको प्राविधिक कारणबारे थप सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै