२७ फाल्गुण, काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएसँगै संसद्मा ६ वटा राजनीतिक दलले ‘राष्ट्रिय दल’ को ऐतिहासिक मान्यता प्राप्त गरेका छन् ।
यसपटकको निर्वाचनले पाँचवटा पुराना शक्तिलाई यथावत् राखे पनि एउटा नयाँ शक्तिको उदय गराएर नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ। हर्क साम्पाङको नेतृत्वमा रहेको ‘श्रम संस्कृति पार्टी’ ले प्रत्यक्षतर्फ तीन सिट जित्नुका साथै समानुपातिकतर्फको तीन प्रतिशतको चुनौतीपूर्ण ‘थ्रेसहोल्ड’ पार गरेर राष्ट्रिय दलको सूचीमा आफ्नो नाम लेखाउन सफल भएको हो । भुईँतहको राजनीति र श्रमको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको यो नयाँ दलको इन्ट्रीले आगामी संसद्मा फरक बहस सिर्जना गर्ने देखिएको छ ।
बाँकी पाँच राष्ट्रिय दलहरूमा भने यसअघिको संसद्मा पनि प्रभाव जमाएका पुराना शक्तिहरूकै निरन्तरता रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक ठूलो मतान्तरसहित आफ्नो वर्चस्व कायम राखेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि राष्ट्रिय दलको साख जोगाउन सफल भएका छन् । यी दलहरूले प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुका साथै समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशतको कानुनी सीमा पार गरेकाले मात्र यो मान्यता पाएका हुन् । विगतमा राष्ट्रिय दलको भूमिकामा रहेका कतिपय शक्तिहरूले भने यसपटक थ्रेसहोल्ड कटाउन नसक्दा उनीहरू प्राविधिक रूपमा ‘स्वतन्त्र’ सांसदको हैसियतमा सीमित भएका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क अनुसार रास्वपाले झण्डै ४८ प्रतिशत मतसहित अग्रता कायम राख्दा नयाँ दल श्रम संस्कृति पार्टीले ३.५८ प्रतिशत मत पाउनुले मतदाताको रुचि वैकल्पिक शक्ति र नयाँ एजेन्डातिर मोडिएको संकेत गरेको छ । राष्ट्रिय दलको मान्यता पाएसँगै यी ६ दलले मात्र अब संसद्मा दलको हैसियतमा सेवासुविधा र पहिचान पाउनेछन् । यसले आगामी चैत ५ गते बन्ने भनिएको नयाँ सरकारको गणित र सदनको कारबाहीमा यी ६ दलको भूमिकालाई निर्णायक बनाइदिएको छ ।

















