Logo

२७ फाल्गुण, काठमाडौँ ।  पछिल्लो समय उत्साहजनक लयमा देखिएको सेयर बजारमा बुधबार भने नमिठो धक्का लागेको छ ।

साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४६ दशमलव ७८ अङ्कले ओरालो लाग्दै २७९६ अङ्कको बिन्दुमा झरेको हो । बजार खुलेको पहिलो एक घण्टामा सामान्य उतारचढाव देखिए पनि त्यसपछि बजार निरन्तर ओरालो लाग्ने क्रम रोकिएन । यसअघि सोमबार मात्रै सकारात्मक सर्किट ब्रेक लागेर २८७५ अङ्कसम्म पुगेको बजार पछिल्ला दुई दिनमा कुल ७९ अङ्कले घटिसकेको छ । लगानीकर्ताहरूमा नाफा सुरक्षित गर्ने होड चल्दा बजारमा बिक्री चाप बढेको र परिसूचकमा गिरावट आएको विश्लेषण गरिएको छ ।

बजार परिसूचसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो कारोबार दिन २१ अर्ब ५० करोड रुपैयाँको उच्च कारोबार भएकोमा बुधबार ३८ प्रतिशतले घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । यसले बजार घट्दै जाँदा लगानीकर्ताहरू केही ‘पर्ख र हेर’ को अवस्थामा पुगेको सङ्केत गर्दछ । बुधबार कुल २२५ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ३४ कम्पनीले मात्र हरियो चिह्न कायम गर्न सके भने तीन कम्पनीको मूल्य स्थिर रह्यो। समूहगत रूपमा हेर्दा व्यापार समूह सबैभन्दा धेरै ३।४ प्रतिशतले घट्यो भने बैंकिङ, विकास बैंक, फाइनान्स र जीवन बीमा लगायतका सबैजसो उपसमूहहरू राताम्मे देखिएका छन् ।

बजार ओरालो लागे पनि साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशतको सर्किट नाफा कमाएका छन् । रिलायन्स स्पिनिङ मिल्स र रिडी पावरको मूल्यमा पनि राम्रो सुधार देखिएको छ । अर्कातर्फ, कालिका पावरको मूल्यमा ८।४७ प्रतिशतको उच्च गिरावट देखिँदा पञ्चकन्या माइ र थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले पनि नोक्सानी बेहोरेका छन् । आज रिडी पावर, आँखुखोला जलविद्युत् र नेसनल हाइड्रोपावर कारोबारका हिसाबले अग्रस्थानमा रहे। निर्वाचनको अन्तिम नतिजा र नयाँ सरकार गठनको पूर्वसन्ध्यामा देखिएको यो उतारचढावले आगामी दिनमा बजार कुन दिशामा मोडिनेछ भन्नेमा लगानीकर्ताहरूको चासो बढेको छ ।


सम्बन्धित समाचार