Logo

२७ फागुन,वीरगञ्ज । फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा दुई महिला सहित ६ जनामाथि भएको सामूहिक कुटपिट घटनामा ८ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख सिताराम रिजाल को निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनिया मा बुधबार उक्त मुद्दा दर्ता गरिएको हो।

घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ।

स्थानीयले भने घटनामा सुरुमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरी उल्टै पीडित पक्षलाई दुःख दिएको आरोप लगाएका छन्। विशेषगरी सुरेन्द्र यादव (इन्स्पेक्टर, इलाका प्रहरी कार्यालय विजयपुर) को भूमिकामाथि प्रश्न उठाउँदै उनीमाथि जातीय प्रभावमा परेर पीडितलाई न्याय नदिएको आरोपसमेत लागेको छ।

फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको बताइएको छ। घटनापछि पनि एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेका थिए।

पत्रकार सम्मेलनमा बिर्जा राम चमारले सामान्य विवादपछि स्थानीय भुनेश्वर यादवसहितको समूह लाठी–भाटा लिएर साँझ करिब ६ बजे घरमै पसेर कुटपिट गरेको बताएका थिए। उनका अनुसार सो समूहले घरभित्र रहेका श्रीमती, छोरीसहित ६ जनामाथि निर्घात कुटपिट गर्नुका साथै घरका सामान तोडफोड गरेको थियो। घरमा रहेका दुईवटा मोबाइलसमेत फोडिएको उनले बताए।

कुटपिटबाट बिर्जा राम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्री देवी रामको शरीरभरि निलडाम परेको छ। उनका छोरा राजकुमार रामको टाउकोमा तीन टाँका लागेको छ भने सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेर सात टाँका लागेको बताइएको छ। ललन राम चमारको अनुहार र शरीरमा चोट लागेको छ भने नरेश राम चमारको टाउको र आँखामा चोट लागेको पीडित पक्षले जनाएको छ।

पीडितका अनुसार घटना हुनुभन्दा करिब एक घण्टा अघि दुई पक्षबीच सामान्य भनाभन भएको थियो। सो क्रममा विपक्षी समूहले राजकुमार रामलाई घरभन्दा केही टाढा कुटपिट गरेको र प्रतिवादका क्रममा विपक्षी पक्षका एकजनाको टाउको सामान्य रूपमा फुटेको बताइएको छ। त्यसको केही समयपछि विपक्षीहरू लाठी–भाटा लिएर घरमै प्रवेश गरी सामूहिक आक्रमण गरेको बिर्जा राम चमारले बताए।

घटनापछि पुगेको प्रहरी टोलीले आक्रमणकारीलाई नियन्त्रणमा लिनुको सट्टा आफू र आफ्नै छोरालाई पक्राउ गरी हथकडी लगाएर लगेको उनले आरोप लगाए। उनीहरूलाई थुनामा राखेर कुटपिटसमेत गर्दै इलाका प्रहरी कार्यालय विजयपुर पठाइएको दाबी गरिएको छ।

स्थानीय समाजसेवी तथा फतुवा विजयपुरका मेयर प्रत्याशी विजय यादवका अनुसार पीडितलाई पक्राउ गरिएको थाहा पाएपछि उनले इन्स्पेक्टर सुरेन्द्र यादवलाई फोन गरेर छोड्न आग्रह गरेका थिए। “तर उहाँले कुरा नसुनेपछि मैले जिल्ला प्रहरी प्रमुखलाई फोन गरेँ, त्यसपछि मात्रै बिर्जा राम र उनका छोरालाई छोडिएको हो,” उनले बताए।

पीडितका अनुसार घटनाको एक सातासम्म पनि जाहेरी दर्ता गरिएको थिएन। आइतबार र सोमबार इलाका प्रहरी कार्यालय विजयपुर पुगेर उजुरी दर्ता गर्न आग्रह गर्दा पनि इन्स्पेक्टर यादवले बेवास्ता गरेको र उल्टै धम्क्याएको आरोप लगाइएको छ।

पत्रकार सम्मेलनका क्रममा बिर्जा राम चमारले भावुक हुँदै आफूलाई न्याय दिलाइदिन आग्रह गरेका थिए।

यता इन्स्पेक्टर सुरेन्द्र यादवले भने विपक्षी पक्षका एकजनाको टाउको फुटेको र निर्वाचनको संवेदनशील अवस्थाका कारण उनीहरूलाई पक्राउ गरिएको बताएका छन्। पछि बिर्जा रामको परिवारका सदस्यहरू पनि घाइते भएको थाहा पाएपछि सोही रात जिम्मा–जमानिमा बाबु–छोरालाई छाडिएको उनले बताएका छन्।

स्थानीयवासीका अनुसार इन्स्पेक्टर यादव इलाका प्रहरी कार्यालय विजयपुरको प्रमुख भएर आएदेखि क्षेत्रमा अराजक गतिविधि बढेको छ। केही समयअघि पनि उनको मिलेमतोमा विजयपुर थानाक्षेत्रमा लाखौँ रुपैयाँको कौडा जुवा खेलाइएको आरोप लागेको थियो। स्थानीयको विरोधपछि सो गतिविधि रोकिएको बताइन्छ।

उनको कार्यकालमा साना घटनालाई ठूलो बनाउँदै आर्थिक चलखेल हुने गरेको र विभिन्न राजनीतिक प्रभावका कारण दलित परिवारसहित धेरैलाई न्यायबाट वञ्चित गरिएको स्थानीयको आरोप छ।


सम्बन्धित समाचार