२८ फागुन, काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरुको आज बिदाई गरिँदैछ ।
४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले जानकारी दिए । उनीहरुलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि विदाई गरिनेछ ।
काफ्लेले निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न सम्भव भएको बताए । यस वर्ष नेपाल प्रहरी मातहत रहनेगरी एक लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै विदाई कार्यक्रम राखिएको शशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए ।
उनीहरुले पाउनुपर्ने पारिश्रमिक र सेवासुविधा वाफतको रकम भने खातामा पठाइसकिएको छ। ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेट अनुसारको रासन भत्ता, यातायात भत्ता खाजा खर्च, पोसाक भत्ता अनुसार एकसरो कपडाको खर्च उपलब्ध गराइएको थियो ।

















