Logo

२८ फागुन,वीरगञ्ज । मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छैनन्। ३२ निर्वाचन क्षेत्र रहेको प्रदेशमा हालसम्म ३१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। ती क्षेत्रमा ९८५ उम्मेदवारमध्ये ८९४ जनाको जमानत जफत भएको छ भने केवल ९१ उम्मेदवारले मात्र जमानत बचाउन सफल भएका छन्।

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी विवादका कारण मतपरिणाम अझै सार्वजनिक भएको छैन। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरे पनि मतपत्रमा पार्टीको चिन्ह नहटाइँदा सो चिन्हमा सबैभन्दा बढी मत परेको थियो। आयोगले भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई निर्वाचित घोषणा गरेको छ।

जमानत जफत हुने मुख्य कारण कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त हुनु हो। जिल्लागत विवरण हेर्दा, सप्तरीका ४ निर्वाचन क्षेत्रमा १०२ उम्मेदवारमध्ये ९० को जमानत जफत भएको छ भने १२ ले जमानत बचाएका छन्। सिरहाका ४ क्षेत्रमा १३८ उम्मेदवारमध्ये १२७ को जमानत जफत भएको छ। धनुषाका ३ क्षेत्रमा ११६ उम्मेदवारमध्ये १०६ को जमानत जफत भयो।

महोत्तरीमा १३९ उम्मेदवारमध्ये १२७ को जमानत जफत भए पनि १२ ले जोगाएका छन्। सर्लाहीमा १३१ उम्मेदवारमध्ये १२२ को जमानत जफत भएको छ भने ९ ले जोगाएका छन्। रौतहटमा १४२ उम्मेदवारमध्ये १२८ को जमानत जफत भयो। बारामा ११० उम्मेदवारमध्ये ९९ को जमानत जफत भएको छ भने ११ ले जोगाएका छन्। पर्सामा १०७ उम्मेदवारमध्ये ९५ को जमानत जफत भएको छ।

पार्टीगत विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका ३१ उम्मेदवारमध्ये सबैले जमानत बचाएका छन्, जसमा ३० जना निर्वाचित भएका छन्। नेपाली कांग्रेसका ३१ उम्मेदवारमध्ये २२ ले जमानत बचाएका छन् भने केवल एकजना मात्र निर्वाचित भएका छन्।

यसैगरी नेकपा एमाले, जसपा नेपाल, नेकपा, आजपा, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टीका एक–एक जना उम्मेदवारले जमानत जोगाउन सफल भएका छन्।

मधेस प्रदेशको मत परिणामले प्रजातान्त्रिक प्रतिस्पर्धामा उम्मेदवारहरूको ठुलो संख्या चुनाव हार्दा जमानत जफत हुने संकेत गरेको छ, तर केही पार्टीका उम्मेदवारले सशक्त प्रदर्शन गर्दै जमानत बचाउन सफल भएका छन्।


सम्बन्धित समाचार