२८ फाल्गुण, काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि भएको जघन्य हत्याको विरोधमा बिहीबार काठमाडौँको माइतीघर मण्डला न्यायको माग गर्नेहरूको बाक्लो उपस्थितिले भरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा फागुन २३ गते भएको यो क्रूर घटनाको बाछिटा राजधानीसम्म आइपुग्दा प्रदर्शनकारीहरूले ‘इनिसालाई न्याय दे’ र ‘बलात्कारीलाई कारबाही गर’ भन्दै आक्रोशपूर्ण नाराबाजी गरेका छन् । प्लेकार्ड र ब्यानर बोकेका प्रदर्शनकारीहरूले केवल अपराधीलाई फाँसीको माग मात्र गरेनन्, बरु समाजमा जरा गाडेर बसेको जात व्यवस्था र पितृसत्ता विरुद्ध समेत चर्को आवाज उठाएका छन् ।
प्राविधिक र वैज्ञानिक पक्षबाट अनुसन्धान हुने
घटनाको गम्भीरता र स्थानीय स्तरमा बढ्दो दबाबलाई मध्यनजर गर्दै सुर्खेत प्रहरीले यस प्रकरणको सुक्ष्म अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको एउटा विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर पुगेर प्राविधिक र वैज्ञानिक पक्षबाट अनुसन्धान सुरु गर्ने तयारीमा छ । हालसम्म प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा १८ वर्षमुनिका चार जना किशोरहरूलाई नियन्त्रणमा लिएको छ, जसमा सुरुमै पक्राउ परेका १६ वर्षीय किशोर र पछि समातिएका अन्य तीन जना रहेका छन् । उनीहरूमाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भइरहेको छ।
इनिसाको हत्या भएको झन्डै एक साता पुग्न लाग्दा पनि न्यायको सुनिश्चितता नभएको भन्दै परिवारजनले अझै शव बुझ्न अस्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका आफन्तहरूले सत्यतथ्य बाहिर नआएसम्म र दोषीलाई कडा कानुनी सजायको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । सुर्खेतको गुर्भाकोट स्थायी घर भई वीरेन्द्रनगरमा अध्ययनरत इनिसाको अकल्पनीय मृत्युले देशैभरि सुरक्षा र न्याय प्रणालीमाथि प्रश्न उठाएको छ भने सीआईबीको प्रवेशले घटनाको वास्तविकता चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

















