२८ फाल्गुण, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उच्च उत्साह देखिएको छ। नेप्से परिसूचक २३।८७ अंकले उकालो लाग्दै २८२० को विन्दुमा पुगेर अडिएको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएकोमा आज त्यो आँकडा बढेर १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जसले लगानीकर्ताहरूको मनोबल थप बलियो हुँदै गएको संकेत गर्दछ ।
आजको बजारलाई मुख्य गरी बैंकिङ समूहले नेतृत्व गरेको छ । यो समूह २ दशमलव ०२ प्रतिशतले बढेर लगानीकर्तालाई आकर्षित गर्न सफल भयो । बैंकिङसँगै विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहमा पनि एक प्रतिशतभन्दा बढीको सुधार देखिएको छ । कुल १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। होटल तथा पर्यटन र अन्य केही समूहमा सामान्य गिरावट देखिए पनि समग्र बजारको लय सकारात्मक नै रह्यो ।
आजको कारोबारमा चारवटा कम्पनीहरू साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र नव–सूचीकृत होटल फरेस्ट इनको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । विशेष गरी आजैबाट कारोबारमा आएको होटल फरेस्ट इनले लगानीकर्ताको विशेष ध्यान तानेको छ ।
यस्तै, नेसनल हाइड्रोपावर र कुमारी बैंक लगायतका कम्पनीहरूको सर्वाधिक कारोबार भयो । परिसूचक २८०० को मनोवैज्ञानिक सतह पार गरेर अघि बढेपछि बजारमा आगामी दिनमा थप तेजी आउने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।

















