Logo

२८ फाल्गुण, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार असामयिक निधन भएको छ ।

पोखरामा आयोजित जिल्ला कमिटीको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनी अचानक बेहोस भई ढलेका थिए । बैठकस्थलमै हृदयघात भएपछि उनलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् । राजनीतिक जीवनको उत्तरार्धमा सक्रिय रहेकै अवस्थामा भएको यो दुःखद घटनाले एमाले वृत्त र कास्कीको राजनीतिमा ठूलो शोक छाएको छ। थापाको पार्थिव शरीर अहिले मणिपाल अस्पतालमै राखिएको छ ।

स्वर्गीय थापा पछिल्लो समय पार्टीभित्रको आन्तरिक राजनीतिक खिचातानीका कारण निकै चर्चा र दबाबमा थिए । हालै सम्पन्न निर्वाचनमा उनलाई कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने प्रारम्भिक निर्णय भएको थियो । तर, पार्टीभित्र तीव्र विरोध भएपछि अन्तिम समयमा उनको टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो । टिकट खोसिएको विषयले उनी मानसिक रूपमा केही तिक्तता र दबाबमा रहेको चर्चा चलिरहेकै बेला जिल्लाको समीक्षा बैठकमा बोल्दाबोल्दै उनको मृत्यु हुनुलाई धेरैले निकै मर्मस्पर्शी रूपमा लिएका छन् ।

पार्टीका इमानदार र निष्ठावान् नेताका रूपमा चिनिने थापाको निधनले एमालेले एक अनुभवी अभिभावक गुमाएको छ । चुनावी नतिजाको समीक्षा र आगामी कार्यदिशाबारे छलफल भइरहेको बैठकमा सक्रियतापूर्वक सहभागी भइरहेका थापाको यसरी आकस्मिक बिदाइ होला भनेर कसैले कल्पना गरेका थिएनन् । उनको निधनको खबरसँगै एमालेका शीर्ष नेताहरू र शुभचिन्तकहरूले शोक व्यक्त गरेका छन् भने कास्की एमालेमा सन्नाटा छाएको छ ।


सम्बन्धित समाचार