Logo

२८ फाल्गुण, काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडियाका अवैध स्क्यामिङ सेन्टर र क्यासिनोहरूमा बन्धक बनाइएका १६ जना नेपाली नागरिकको बिहीबार सफलतापूर्वक उद्धार गरिएको छ ।

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको त्रिकोणात्मक समन्वयमा उनीहरूलाई नारकीय जीवनबाट मुक्त गरी काठमाडौँ फर्काइएको हो । रोजगारीको प्रलोभनमा परेर अवैध मार्ग हुँदै कम्बोडिया पुगेका यी नेपालीहरूलाई त्यहाँका अनलाइन ठगी केन्द्रहरूमा जवर्जस्ती गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएपछि थप जोखिमपूर्ण अवस्थामा रहेको सूचनाका आधारमा यो उद्धार सम्भव भएको हो ।

बैंककस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै कम्बोडियामा अझै पनि धेरै नेपालीहरू अनलाइन ठगी जस्ता आपराधिक गतिविधिमा संलग्न गराइएको र कतिपय बिनाभिसा अलपत्र परेको जानकारी प्राप्त भएको जनाएको छ । दूतावासले कठिन परिस्थितिमा फसेका अन्य नेपालीहरूको खोजी र उद्धारका लागि कम्बोडियाली अधिकारीहरूसँग निरन्तर संवाद भइरहेको र उनीहरूलाई पनि चाँडै स्वदेश फर्काउने पहल भइरहेको बताएको छ ।

तस्करहरूले आकर्षक तलबको लोभ देखाएर नेपाली युवाहरूलाई ‘डिजिटल दासता’ को दलदलमा धकेल्ने क्रम बढेपछि सरकारले विदेश जानुअघि कम्पनी र कामको प्रकृतिबारे पूर्ण जानकारी लिन विशेष अपिल समेत गरेको छ ।


सम्बन्धित समाचार