२८ फागुन,वीरगञ्ज । नेपालको मुख्य आर्थिक प्रवेशद्वार तथा औद्योगिक राजधानीका रूपमा परिचित वीरगञ्जमा रहेको प्रतिष्ठित व्यावसायिक संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घ को ५०औँ वार्षिक साधारणसभा बिहीबार विशेष समारोहका बीच शुरू भएको छ।
साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि डा. विश्वराज पौडेल ले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
सङ्घका अध्यक्ष हरि गौतम ले स्वागत मन्तव्य व्यक्त गर्दै वर्तमान समयमा मुलुकले भोगिरहेको चरम आर्थिक मन्दीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले नेपालको अर्थतन्त्र अहिले ‘बिरामी’ अवस्थामा पुगेको टिप्पणी गर्दै समयमै उचित उपचार नभए मुलुक थप आर्थिक सङ्कटमा फस्ने चेतावनी दिए।
अध्यक्ष गौतमले टालटुले नीति वा अल्पकालीन समाधानले मात्रै अर्थतन्त्रलाई सही दिशामा लैजान नसकिने बताउँदै सरकारले समग्र आर्थिक नीतिको निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार, विशेषगरी तराईका औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूको अवस्था पछिल्ला वर्षहरूमा झन् दयनीय बन्दै गएको छ। अधिकांश उद्योगहरू हाल ३० देखि ३५ प्रतिशत उत्पादन क्षमतामा मात्र सञ्चालन भइरहेको र कतिपय उद्योगहरू बैंकको ब्याज तिर्न तथा आफ्नो अस्तित्व जोगाउनका लागि मात्र सञ्चालन भइरहेका छन्।
स्वदेशी उद्योग संरक्षण र वैदेशिक लगानी प्रोत्साहन गर्ने स्पष्ट नीति तथा स्थिर कानुनी व्यवस्था अभावका कारण लगानीकर्तामा निराशा बढेको उनले बताए। कठोर श्रम ऐन, झन्झटिलो प्रशासनिक प्रक्रिया र अव्यवहारिक कानुनी व्यवस्थाका कारण वैध कारोबार गर्ने उद्योगी–व्यवसायी मारमा परेको र अवैध कारोबारले प्रश्रय पाएको उनको भनाइ थियो।
सङ्घले आफ्नो ८२ वर्ष लामो यात्रामा निजी क्षेत्रको हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै अध्यक्ष गौतमले संस्थाभित्र भएका आन्तरिक सुधारबारे पनि जानकारी दिए। विगतमा घाटामा रहेको सङ्घको वासलात यस वर्ष नाफामा लैजान सफल भएको, कर्मचारी व्यवस्थापनमा सुधार गरिएको तथा वित्तीय अनुशासन कडाइका साथ लागू गरिएको उनले बताए।
वीरगञ्जलाई आयात–निर्यात केन्द्र मात्र नभई उद्यमशीलताको हब बनाउने उद्देश्यसहित ‘स्टार्टअप र इनोभेशन सेन्टर’ स्थापना गर्ने निर्णय पनि सङ्घले गरेको छ। यसबाट स्थानीय युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा प्रेरणा मिल्ने विश्वास अध्यक्ष गौतमले व्यक्त गरे।
यसैगरी महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला सम्मेलन तथा सञ्चालनमा रहेको गार्मेन्ट सिलाई तालिम कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व र आर्थिक विकासलाई जोड्ने प्रयास गरिएको उनले बताए।
अध्यक्ष गौतमले आगामी बजेटमार्फत सरकारले मुलुकको मानव पुँजीलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा व्यक्त गर्दै ५०औँ साधारणसभाबाट पारित हुने आर्थिक तथा नीतिगत प्रस्तावहरूलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। साथै बारा–पर्सा क्षेत्रका गौरवका विकास आयोजनाहरू शीघ्र अघि बढाउन उनले सरकारसँग विशेष आग्रह गरेका छन्।
उद्घाटन सत्र जारी रहेको साधारणसभामा उद्योगी–व्यवसायी, सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ।

















