Logo

२९ फागुन, काठमाडौँ । मध्यपूर्वमा जारी तनावका बिच दुबईमा इरानी क्षेप्यास्त्रको भिडियो खिचेको आरोपमा ६० वर्षीय एक बेलायती पर्यटक पक्राउ परेका छन्। यूएईको कडा साइबर अपराध कानुन अन्तर्गत उनलाई हिरासतमा लिइएको हो ।

यूएईको सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने खालका सामग्री प्रकाशन वा सेयर गर्न निषेध गर्ने कानुन उल्लङ्घन गरेको भन्दै ती पर्यटकलाई नियन्त्रणमा लिइएको डिटेन्ड इन दुबई नामक संस्थाले जनाएको छ। सो संस्थाका अनुसार हालैका क्षेप्यास्त्र आक्रमणसँग सम्बन्धित भिडियो र सामाजिक सञ्जाल पोस्टका कारण उक्त व्यक्तिसहित २१ जनालाई साइबर अपराधको मुद्दा चलाइएको छ। प्रहरीले ती बेलायती नागरिकको मोबाइलमा दुबईमा भएको इरानी क्षेप्यास्त्र प्रहारको भिडियो फेला पारेको बताइएको छ ।

यूएईकी राज्यमन्त्री लाना नुसेइबेहले यस घटनाबारे जानकारी रहेको बताउँदै कानुन उल्लङ्घनका केही घटना भएको स्वीकार गरेकी छन् । उनले यस्ता दृश्यको छायाङ्कनले स्वयं व्यक्तिलाई पनि जोखिममा पार्ने बताउँदै कानुनी प्रक्रिया बमोजिम नै कारबाही हुने स्पष्ट पारिन्। यूएई सरकारले सूचनाको प्रवाहलाई नियन्त्रण गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न यस्तो कानुन आवश्यक रहेको तर्क गर्दै आएको छ ।

यता मानवअधिकारवादी संस्थाहरूले भने यूएईले पर्यटन र सुरक्षाको भ्रम कायम राख्न अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको आरोप लगाएका छन्। डिटेन्ड इन दुबईकी कार्यकारी प्रमुख राधा स्टर्लिङले अभियोग पत्र निकै अस्पष्ट रहेको र पर्यटकहरूलाई झुक्याएर पक्राउ गर्ने क्रम बढेको बताएकी छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी सर्वोच्च नेता मारिएपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको हो। यसको जवाफमा इरानले इजरायल र अमेरिकी सहयोगी खाडी राष्ट्रहरूमा निरन्तर आक्रमण गरिरहेको छ। पछिल्लो समय दुबईका विलासी होटलहरू फेयरमन्ट द पाम र बुर्ज अल अरब जस्ता संरचनाहरूमा समेत क्षति पुगेको छ। द्वन्द्वका कारण यस क्षेत्रको हवाई उडान सेवा पनि नराम्ररी प्रभावित भएको छ।


सम्बन्धित समाचार