Logo

२९ फागुन, काठमाडौँ । अमेरिकी सेनाको एक केसी–१३५ रिफ्युलिङ विमान इराकमा दुर्घटनामा परेको छ । अमेरिकी सेनाले पश्चिमी इराकमा विमान दुर्घटनामा परेको पुष्टि गरेको छ ।

सेनाले ‘मित्र देशको एयर स्पेस’ मा विमान खसेको बताएको छ । दुईवटा विमानमध्ये एउटा विमान सुरक्षित अवतरण भएको छ । रिफ्युलिङ विमान लडाकु विमानमा हावामै इन्धन भर्ने गर्दछन् ।

केसी–१३५ विमान खस्नुको कारणबारे केही जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ । बीबीसीले समाचारमा लेखेको छ, ‘तर, एउटा आशंका छ कि यि विमानहरू हावामा ठोक्किए ।’

अमेरिकी सेन्ट्रल कमानले यो घटना सत्रुको गोलीबारी या आफ्नै सेनाको गोलीबारीका कारण नभएको बताएको छ । विमानमा सवारहरूको संख्या र हताहतीका बारेमा पनि केही जानकारी सार्वजनिक भएको छैन ।

अमेरिकी सेन्ट्रल कमानले भनेको छ, ‘यो घटना इराकको एयर स्पेसमा भएको हो । तर, छिमेकी देश इरानबाट कति दूरीमा छ भन्नेबारेमा केही जानकारी आएको छैन ।’

रिफ्युलिङ ट्यांकर विमान युद्धमा अहम् भूमिका निर्वाह गर्दछन् । यी विमानहरूले लडाकु विमान र बमवर्षक विमानहरूमा हावामै इन्धन दिएर लामो दूरीसम्म उडान भर्न र युद्ध गर्न सक्षम बनाउँछन् ।


सम्बन्धित समाचार