२९ फाल्गुण, काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मुलुकको राजनीतिमा छाएको अनिश्चितता र आशंकालाई चिर्न यो निर्वाचन सफल भएको दाबी गरेको छ ।
अनेकन् राजनीतिक षड्यन्त्र र चुनौतीपूर्ण परिस्थितिका बीच सम्पन्न भएको यो चुनावी प्रक्रियाले अन्ततः लोकतन्त्रलाई पुनः सही बाटोमा ल्याउने ढोका खोलेको नेकपा नेतृत्वको ठम्याइ छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले मातहतका कमिटीहरूमा पठाएको ‘निर्वाचन विशेष निर्देशन–३ मार्फत निर्वाचनले विचलित हुँदै गएको राजनीतिक प्रणालीलाई पुनर्जीवन दिएको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।
निर्वाचनमा जनमत आफूहरूको अपेक्षाभन्दा फरक आए पनि नेकपाले मतदाताको फैसलालाई सहर्ष स्वीकार गर्ने उद्घोष गरेको छ । चुनावी नतिजाको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीले अबका दिनमा संसदभित्र एक जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ । निर्वाचनको परिणामले पार्टीलाई सत्ताभन्दा बाहिर राखे पनि यसलाई जनताको निगरानी गर्ने अवसरका रूपमा उपयोग गरिने नेकपाको निर्देशनपत्रमा उल्लेख छ ।
पार्टीले चुनावी पराजयको मुख्य कारणका रूपमा आन्तरिक व्यवस्थापन र प्रचारप्रसारको अभावलाई औंल्याएको छ । भर्खरै मात्र एकता प्रक्रियामा सामेल भएको हुनाले संगठनको तल्लो तहसम्म समायोजन हुन नसक्नु र छोटो समयका कारण पार्टीको नीति, कार्यक्रम एवं नयाँ चुनाव चिह्नलाई मतदाताको घरदैलोसम्म पुर्याउन नसकिएको नेतृत्वले स्वीकार गरेको छ । विशेषगरी भदौ २३ र २४ गतेका राजनीतिक घटनाक्रमपछि उत्पन्न अन्योल र विपक्षीहरूबाट भएका नकारात्मक प्रचारलाई चिर्न समयको अभाव हुनुलाई नेकपाले आफ्नो प्रतिकूल नतिजाको आधार मानेको छ ।
तथ्यांकअनुसार, यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित भारी बहुमत प्राप्त गर्दा नेकपा १७ सिटमा खुम्चिन पुगेको छ । कुल ७,८५,७०१ समानुपातिक मत प्राप्त गरेको नेकपाले अबको कार्यकाल आफ्नो संगठन सुदृढीकरण र जनताको एजेन्डालाई सदनमा बुलन्द गर्ने मुख्य कार्यभार बनाएको छ । प्रतिकूलताका बीच पनि निर्वाचन सम्पन्न हुनु आफैँमा लोकतन्त्रको जित भएको भन्दै पार्टीले अबको राजनीति स्थायित्वतर्फ अघि बढ्ने आशा व्यक्त गरेको छ ।

















