Logo

२९ फाल्गुण, काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर विसर्जन स्थल बञ्चरेडाँडामा स्थानीयवासीको अवरोधका कारण आजदेखि फोहर व्यवस्थापन कार्य पूर्ण रूपमा ठप्प भएको छ  ।

नुवाकोट र धादिङका प्रभावित क्षेत्रका बासिन्दाले विगतमा नेपाल सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै फोहर बोकेर गएका गाडीहरूलाई बीच बाटोमै रोकेका हुन् ।  पटक-पटक गरिएका प्रतिबद्धताहरू कागजमै सीमित भएको भन्दै आक्रोशित बनेका स्थानीयले आफ्ना माग पूरा नभएसम्म ढुवानी सुचारु हुन नदिने अडान लिएका छन्

विशेषगरी नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रभावित वडाका बासिन्दाले दुई जिल्लाको सीमा क्षेत्र ढाँडेमा सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरिरहेका छन् । स्थानीय संघर्ष समितिका सदस्य निरञ्जन सञ्जेलका अनुसार सरकारले पटक-पटक ‘उधारो सहमति’ गरेर आफूहरूलाई झुक्याउँदै आएको छ । यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयन गर्ने आश्वासन दिएपछि केही समयका लागि अवरोध हटेको भए पनि व्यवहारमा कुनै सुधार नदेखिएपछि स्थानीय पुनः आन्दोलित हुनुपरेको हो  ।

यसपटकको आन्दोलनमा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूले समेत ऐक्यबद्धता जनाउँदा अवरोध थप सशक्त बनेको देखिन्छ । प्रभावित क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका पुराना सर्तहरू तत्काल पालना गर्न माग गरेका छन् । फोहरका गाडीहरू फिर्ता पठाइएका कारण काठमाडौँ उपत्यकाका सडकमा पुनः फोहरको थुप्रो लाग्न सक्ने जोखिम बढेको छ  । समस्या समाधानका लागि सरोकारवाला निकाय र स्थानीयबीच ठोस संवाद नभएसम्म बञ्चरेडाँडाको अनिश्चितता कायमै रहने देखिएको छ  ।


सम्बन्धित समाचार