२९ फागुन,हेटौँडा । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा शुक्रबार बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ट्रक ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरी गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि घाइते चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

















