२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसहित ऐतिहासिक सफलता हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनको तयारीलाई तीव्रता दिएको छ ।
यसै सिलसिलामा पार्टीले आफ्नो विधानको एउटा जटिल व्यवस्थालाई संशोधन गरेर वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गर्ने गृहकार्य सुरु गरेको छ । हालको विधानको धारा ६६ अनुसार संसदीय दलको नेता छान्न पार्टीका सम्पूर्ण साधारण सदस्यहरूले मतदान गर्नुपर्ने ‘अव्यावहारिक’ प्रावधान रहेकाले, त्यसलाई परिवर्तन गरी निर्वाचित सांसदहरूबाटै नेता चयन गर्ने नयाँ विधि ल्याउन लागिएको हो ।
पार्टीका सहप्रवक्ता प्रतिभा रावलका अनुसार, सबै सदस्यहरूबाट मतदान गराउने प्रक्रिया प्राविधिक र समयका हिसाबले कठिन देखिएकाले विधानलाई समयानुकूल बनाउन लागिएको हो । नयाँ व्यवस्थाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फका निर्वाचित सांसदहरूमध्ये ५० प्रतिशत मत कटाउने उम्मेदवार दलको नेता बन्न सक्नेछन् । रास्वपा र बालेन पक्षबीच गत पुस १३ गते भएको सात बुँदे सहमतिअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह संसदीय दलको नेता हुँदै भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख थियो । सोही राजनीतिक जगमा उभिएर रास्वपाले अहिले बालेनलाई संसदीय मोर्चाको कमान्ड सुम्पिने तयारी गरेको हो ।
समानुपातिकतर्फका ५७ सांसदहरूको नामावली टुङ्गो लागेलगत्तै विधान संशोधन र दलको नेता चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ । निर्वाचन आयोगले दलहरूलाई निर्वाचित सांसदहरूको सूची पठाउन पत्र पठाइसकेको अवस्थामा रास्वपाले आफ्नो आन्तरिक तयारीलाई अन्तिम रूप दिइरहेको छ । झन्डै दुई तिहाइ बहुमतको नजिक पुगेको रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरिरहँदा बालेन शाहको संसदीय दलको नेताका रूपमा हुने उदयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।
यद्यपि, पार्टीभित्रको भागबन्डालाई लिएर कतिपय ‘जेनजी’ (युवा पुस्ता) का समर्थकहरूमा देखिएको असन्तुष्टि भने नेतृत्वका लागि एउटा सानो चुनौतीका रूपमा देखा परेको छ ।

















