Logo

२९ फाल्गुण, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै मुलुकमा नयाँ सत्ता समीकरणको सरगर्मी बढेको छ ।

यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन सम्वाद भएको छ । दुई नेताबीचको कुराकानीमा निर्वाचनमा प्राप्त सफलताका लागि एक–अर्कालाई बधाई साटासाट गरिएको छ ।

यद्यपि, रास्वपाका वरिष्ठ नेता बालेन शाह र प्रचण्डबीच भेटघाट भएको भनी फैलाइएका चर्चालाई भने नेकपा स्रोतले खण्डन गरेको छ । नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार बालेनसँग हालसम्म कुनै औपचारिक भेटघाट वा सम्वाद भएको छैन ।

राजनीतिक भेटघाटकै क्रममा आज एउटा महत्वपूर्ण दृश्य देखिएको छ । निर्वाचनपछि पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच प्रत्यक्ष भेट भएको छ । ओलीका पिता मोहनप्रसादको निधनमा श्रद्धाञ्जली दिन प्रचण्ड आज बिहान भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका बेला दुई नेताबीच संवाद भएको हो । लामो समयको राजनीतिक चिसोपन र निर्वाचनको कडा प्रतिस्पर्धापछि भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि, यो भेटघाट मानवीय संवेदनाका आधारमा भएको र राजनीतिक विषयमा गहिरो छलफल नभएको सचिव आचार्यले स्पष्ट पारेका छन् ।

पछिल्लो राजनीतिक विकासक्रमलाई नियाल्दा प्रचण्डले नयाँ शक्ति र पुराना शक्ति दुवैसँग सम्बन्धको सेतु बनाउन खोजेको देखिन्छ । एकातिर रास्वपा सभापति रविसँगको टेलिफोन सम्वाद र अर्कोतिर ओलीसँगको आकस्मिक भेटले भविष्यको सत्ता समीकरणका लागि ढोका खुल्ला राखेको संकेत गर्छ । रोचक पक्ष के छ भने, निर्वाचनपछि प्रचण्ड र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भने हालसम्म कुनै पनि किसिमको सम्वाद वा भेटघाट हुन सकेको छैन ।

बहुमतको नजिक पुगेको रास्वपा र अस्तित्व जोगाउन संघर्षरत पुराना दलहरूबीचको यो खिचातानीले आगामी सरकार गठनको प्रक्रिया निकै रोचक हुने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार