२९ फाल्गुण, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कर्मचारी सुरक्षण कोषमा रहेको बचत रकमलाई विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले कुल १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गर्दै इच्छुक संस्थाहरूलाई आफ्नो ब्याजदर प्रस्ताव पेस गर्न औपचारिक आह्वान गरेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी चैत १ गते राति ७ बजेसम्म अनलाइनमार्फत आफ्नो दर बुझाउन सक्नेछन् । यो लगानी आगामी सन् २०२६ मार्च १९ देखि सुरु भई २०२७ मार्च १९ सम्म जम्मा ३६६ दिन (एक वर्ष) का लागि कायम रहने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
लगानी गरिने कुल रकममध्ये सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूका लागि छुट्याइएको छ । राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूमा ८८ करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा राखिनेछ । त्यस्तै, राष्ट्रियस्तरका विकास बैंकहरूका लागि १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूका लागि ५ करोड ५० लाख रुपैयाँ लगानी गर्ने योजना बनाइएको छ । यसरी वर्गीकरण अनुसार रकम बाँडफाँड गर्दा वित्तीय प्रणालीमा तरलता सन्तुलन मिलाउन र कोषको उचित परिचालन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूका लागि केही अनिवार्य सर्तहरू समेत अघि सारेको छ । लगानी प्राप्त गर्नका लागि सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, तोकिएको न्यूनतम पुँजी पर्याप्तता अनुपात कायम रहेको हुनुपर्ने र निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम हुनुपर्ने जस्ता मापदण्ड तोकिएका छन् । बैंकहरूले प्रस्ताव गरेको ब्याजदर र उनीहरूको वित्तीय स्वास्थ्यका आधारमा केन्द्रीय बैंकले निक्षेप जम्मा गर्ने संस्थाको अन्तिम छनोट गर्नेछ ।

















