२९ फाल्गुण, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधानको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै तीनवटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई कडा कारबाही गरेको छ ।
धितोपत्र बजारको नियामक निकाय सेबोनले सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई लाखौँ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । बोर्डले गरेको पछिल्लो अनुगमनका क्रममा यी कम्पनीहरूले ग्राहक पहिचान र स्रोतको सम्पुष्टि गर्ने प्रक्रियामा लापरबाही गरेको भेटिएपछि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को विभिन्न दफा आकर्षित गर्दै डन्डा चलाएको हो ।
कारबाहीमा परेकामध्ये सिप्ला सेक्युरिटिजलाई सबैभन्दा बढी ५० लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई जनही ३०/३० लाख रुपैयाँका दरले जरिवाना तोकिएको छ । सेबोनका अनुसार यी कम्पनीहरूले ग्राहकको खाता खोल्ने समयमा पहिचानका लागि आवश्यक पर्ने भरपर्दो कागजात, तथ्याङ्क वा जानकारीको सही व्यवस्थापन नगरेको र स्रोतको पुष्ट्याइँ गर्ने कानुनी दायित्व पूरा नगरेको पाइएको छ ।
ऐनको दफा ७ फ को उपदफा १ को खण्ड (ख) बमोजिम चालिएको यो कदमले धितोपत्र बजारमा हुने अवैध वित्तीय गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण सन्देश दिने विश्वास लिइएको छ ।
बजारमा सुशासन कायम गर्न र लगानीकर्ताको पारदर्शिता सुनिश्चित गर्न बोर्डले पछिल्लो समय नियमनमा कडाइ गर्दै आएको छ । सम्पत्ति शुद्धीकरण जस्तो संवेदनशील विषयमा कमजोरी गर्ने संस्थाहरूलाई जरिवाना मात्र नभई अन्य विभागीय कारबाहीको समेत चेतावनी दिइएको छ ।
नियामक निकायको यो सक्रियतासँगै अब ब्रोकर कम्पनीहरूले ग्राहकको पहिचान गर्दा र कारोबारको स्रोत खोज्दा थप सजगता अपनाउनुपर्ने देखिएको छ । सेबोनले आगामी दिनमा पनि अन्य मध्यस्थकर्ताहरूको नियमित अडिट र अनुगमनलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

















