२९ फागुन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार भएर चुनाव लडेका पूर्वमन्त्री रमेश रिजालले यसपालिको निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालय पर्सामा बुझाएका छन्।
रिजालका प्रतिनिधि विनय भुषण द्विवेदीमार्फत् बुझाइएको विवरण अनुसार उनी कुल ११ लाख ७३ हजार ७१० रुपैयाँ खर्च भएको जनाएका छन्। यसमा प्रचार प्रसार सामग्री (भण्डा, ब्याच आदि)मा ५ लाख, सवारी साधन र इन्धनमा २ लाख २ हजार ७१० रुपैयाँ, घरदैलो कार्यक्रममा खाजा–चिया–पानीमा १ लाख ५७ हजार, नमूना मतपत्र र ब्यानर छपाईमा १ लाख ५० हजार, मतदाता प्रशिक्षण व्यवस्थापनमा ७८ हजार, टेण्ट, साउन्ड र मञ्च व्यवस्थापनमा ४५ हजार खर्च भएको उल्लेख छ।
त्यसैगरी क्षेत्रीय प्रचार प्रसार कार्यालय सञ्चालनमा २५ हजार, मनोनयन दर्ता शुल्कमा १० हजार र पानी तथा चियामा ३ हजार रुपैयाँ खर्च विवरणमा समावेश गरिएको छ।
फागुन २१ को निर्वाचनमा रास्वपाका टेक बहादुर शाक्य २८ हजार ६ मतसहित विजयी भएका थिए भने कांग्रेसका रिजाल १२ हजार ५३४ मतसहित दोस्रो र नेकपा एमालेका जालिम मियाँ मन्सुरी १२ हजार १४५ मतसहित तेस्रो भएका थिए।

















