२९ फाल्गुण, काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित र निराशाजनक नतिजा आएपछि नेपाली कांग्रेसले यसको गम्भीर समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार निर्वाचनका क्रममा भएका कमीकमजोरी, आन्तरिक अन्तर्घात र सांगठनिक विचलनबारे विस्तृत छलफल गर्न बैठकको तयारी तीव्र पारिएको हो । कांग्रेसले आफ्ना सबै जिल्ला कार्यसमितिहरूलाई निर्वाचनको वस्तुगत वस्तुस्थिति र नतिजा प्रभावित हुनुका कारणहरू खुलाएर तत्काल प्रतिवेदन पठाउन निर्देशन दिएको छ । जिल्लाबाट रिपोर्टहरू आउने क्रम सुरु भइसकेको र ती प्राप्त भएलगत्तै केन्द्रीय समितिमा ुपोस्टमार्टमु सुरु हुने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।
दोस्रो ठूलो दलबाट खुम्चिएको आकार
२०७९ सालको निर्वाचनमा संसद्को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस यसपटक दोस्रो स्थानमा झरेको मात्र छैन, सिट संख्याका आधारमा इतिहासकै रक्षात्मक अवस्थामा पुगेको छ । प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको कांग्रेसका लागि यो परिणाम निकै विष्मयकारी बनेको छ । १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्चस्व कायम गर्दा कांग्रेसले आफ्नो बलियो आधार क्षेत्र समेत जोगाउन नसकेको विश्लेषण पार्टीभित्र सुरु भएको छ । यो नतिजाले कांग्रेसलाई केवल दोस्रो दल मात्र बनाएको छैन, संसद्मा उसको उपस्थिति इतिहासकै सबैभन्दा कमजोर प्रतिपक्षीको रूपमा हुने निश्चित गरेको छ ।
प्रतिपक्षी भूमिका र आन्तरिक चुनौती
चैतमा बस्ने केन्द्रीय समितिको बैठकमा पार्टीले सदनमा निर्वाह गर्ने आगामी भूमिका र सांगठनिक पुनर्संरचनाबारे गहन बहस हुने देखिएको छ । संसद्मा संख्यात्मक रूपमा कमजोर भए पनि प्रभावकारी प्रतिपक्षीको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती नेतृत्वसामु छ ।
यसका साथै, पुरानो र ऐतिहासिक दलका रूपमा स्थापित कांग्रेसलाई नयाँ राजनीतिक लहर (रास्वपा) ले कसरी पछि पार्न सफल भयो भन्ने विषयमा युवा नेताहरूले नेतृत्वमाथि प्रश्न उठाउने सम्भावना बलियो छ । जिल्लाबाट आउने प्रतिवेदनका आधारमा पार्टीले आगामी दिनका लागि नयाँ नीति र रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

















