२९ फागुन,वीरगञ्ज । चैते दशैंको शुभ अवसरमा ऐतिहासिक गहवा माईको डोली यात्रा तथा वृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
माईस्थान सञ्चालक समितिका अनुसार मिति २०८२ चैत १२ गते (मार्च २६, २०२६) बिहीबारका दिन गहवा माईको निशानसहित डोली यात्रा निकालिनेछ। डोली यात्रा गहवामाई मन्दिरबाट प्रारम्भ भई विभिन्न धार्मिक स्थलहरू हुँदै पुनः सोही मन्दिर परिसरमा समापन गरिने कार्यक्रम तय गरिएको छ।
डोली यात्रा क्रममा गहवा माई मन्दिरबाट सुरु भई बित्ता माई मन्दिर, अलखिया मठ, श्री गणेश मन्दिर, महावीर मन्दिर तथा माईस्थान चिरही हुँदै पुनः गहवा माई मन्दिरमै समापन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा भक्तजनहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ।
यसै अवसरमा माईस्थान मन्दिर परिसरमा बुधबार बिहान ७ बजे वृहत् रक्तदान कार्यक्रम समेत आयोजना गरिने माईस्थान सञ्चालक समितिले जनाएको छ। कार्यक्रम श्री गहवा माईस्थान मन्दिर तथा रेडक्रससँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ।
डोली यात्रामा निशान उठाउन चाहने इच्छुक भक्तजनहरूले समितिको कार्यालयबाट ३५० रुपैयाँ सहयोग गरी माताको झन्डा, पटुका तथा टोपी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि माईस्थान सञ्चालक समितिको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।
कार्यक्रम सफल बनाउन माईस्थान सञ्चालक समितिले विशेष तयारी गरेको छ भने डोली यात्रालाई व्यवस्थित बनाउन गहवामाई डोली यात्रा उपसमिति समेत गठन गरिएको समितिले जानकारी दिएको छ।

















