Logo

३० फागुन, काठमाडौँ ।  दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त राष्ट्रसंघको अन्तरिम बलको नेपाली बटालियनको परिसरमा पनि गोला प्रहार भएको छ।

लेबनानी स्वास्थ्य मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रले जनाएअनुसार इजरायली आक्रमणले इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन बिन्दुलाई प्रत्यक्ष निशाना बनाएको थियो। यसमा दुई उद्धारकर्ताको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

नाबातिएहमा इजरायली युद्धविमानले अल–राहिबात छिमेकको एउटा घरमा आक्रमण गर्दा एक बालिकासहित ६ जनाको मृत्यु भएको लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ। अर्को इजरायली आक्रमण दक्षिण सीमावर्ती सहर बिन्त जबेलमा भएको थियो जहाँ तीन जनाको मृत्यु भयो।

त्यस्तै, तटीय शहर गाजिएहमा एउटा भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको छ। राष्ट्रिय समाचार एजेन्सीकाअनुसार इजरायली गोलाहरू दक्षिण लेबनानी सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसरभित्र पनि खसेका थिए। बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले यस आक्रमणको कडा निन्दा गरेको छ।

दूतावासद्वारा जारी विज्ञप्तिमा कुनैपनि नेपाली सैनिक घाइते नभएको उल्लेख गरिएको छ। तर, संयुक्त राष्ट्र संघको शान्ति सेनाको स्थानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघका कर्मचारीहरूको सुरक्षा गर्ने सिद्धान्तहरूको गम्भीर उल्लंघन भएको कुरामा जोड दिइएको छ।

मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियनको परिसरमा इजरायली गोलाहरू खसेका छन् । मानार्थ महावाणिज्य दूतावासकाअनुसार कुनैपनि नेपाली सैनिक घाइते भएका छैनन्। यसैबीच, हिजबुल्लाहले इजरायली लक्ष्यहरूविरुद्ध धेरै प्रतिशोधात्मक कारबाहीहरू गरेको बताएको छ।

हिजबुल्लाहले लेबनानी सीमावर्ती गाउँ मारकाबाको विपरित वादी हुनिनमा इजरायली सैनिक र सवारी साधनहरूको जमघटमा र दक्षिण लेबनानको भर्खरै स्थापित ब्लाट सैन्य स्थलमा रकेट प्रहार गरेको जनाएको छ। समूहले इजरायली सहर सफेदको पूर्वमा रहेको गिभा ड्रोन नियन्त्रण आधारलाई निशाना बनाएको र मेटुला बस्तीमा इजरायली सेनाको जमघटमा दिनमा तेस्रो पटक रकेट प्रहार गरेको घोषणासमेत गरेको छ।

शुक्रवार राति नै इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा हवाई आक्रमणको नयाँ लहर शुरु गरेको छ, जसलाई हिजबुल्लाहको गढ मानिन्छ। यसले चलिरहेको सीमापार द्वन्द्वमा थप वृद्धि भएको संकेत गर्दछ। इजरायली ड्रोनहरूले बेरुतका केही भागहरूमा पर्चाहरू खसालेका छन् जसमा बासिन्दाहरूलाई हिजबुल्लाहविरुद्ध उक्साउने सन्देशहरू लेखिएका थिए ।


सम्बन्धित समाचार