३० फागुन,वीरगञ्ज । शारीरिक स्वास्थ्य र सचेतना जगाउने उद्देश्यका साथ शनिबार वीरगञ्जमा भव्य ‘वाकाथुन’ (पैदल यात्रा) कार्यक्रम सम्पन्न भएको छ। युवा उद्यमी मञ्च (एनवाईइएफ) वीरगन्जको आयोजनामा भएको उक्त कार्यक्रमले नगरबासीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने सन्देश दिएको छ।
पैदल यात्रा वीरगन्जको ऐतिहासिक गहवामाई मन्दिर परिसरबाट सुरु भएको थियो। सहभागीहरूले नगरका विभिन्न मुख्य सडक हुँदै मकालु होटल चोक र घडिअर्वा चोक पार गर्दै पुनः माईस्थान पुगेर यात्राको समापन गरेका थिए।
कार्यक्रमबारे जानकारी दिँदै एनवाईइएफ वीरगन्जका अध्यक्ष अभिषेक प्रताप साहले व्यस्त दैनिकीका बीच शारीरिक स्फूर्ति कायम राख्न पैदल यात्राको महत्त्व दर्शाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
‘मानिसहरू अत्यधिक व्यस्त जीवनशैलीमा बाँधिँदै गएका छन्। यस्तो अवस्थामा स्वास्थ्यप्रति सचेतना बढाउन र नियमित शारीरिक गतिविधिको महत्व बुझाउन वाकाथुन आयोजना गरिएको हो,’ उनले भने।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, सहसचिव अनुप अग्रवाल र प्रभु हस्पिटलका सञ्चालक डा. मनोज गुप्ता लगायत विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिता देखिएको थियो।

















