३० फागुन,काठमाडौं । दक्षिण लेबनानमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ। लेबनानी अधिकारीका अनुसार आक्रमण संयुक्त आपतकालीन सेवा केन्द्रलाई लक्षित गरी गरिएको थियो, जसमा दुई जना उद्धारकर्मीको मृत्यु भएको छ।
नाबातिएह क्षेत्रमा रहेको एक घरमा गरिएको आक्रमणमा ६ जनाको ज्यान गएको बताइएको छ। त्यसैगरी दक्षिणी सीमावर्ती सहर बिन्त जबेलमा भएको अर्को आक्रमणमा तीन जनाको मृत्यु भएको छ।
यसैबीच तटीय सहर गाजिएहमा रहेको एक भवनमा हवाई आक्रमण हुँदा दुई बालबालिकाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस घटनाक्रमबीच संयुक्त राष्ट्रसंघको अन्तरिम शान्ति मिसन (युनिफिल) अन्तर्गत रहेको नेपाली बटालियन परिसर नजिक पनि गोला प्रहार भएको छ। दक्षिण लेबनानको सीमावर्ती गाउँ मेस अल–जबालमा रहेको युनिफिलको नेपाली बटालियन परिसरभित्र इजरायली गोला खसेको बताइएको छ।
बेरुतस्थित नेपालको मानार्थ महावाणिज्य दूतावासले उक्त आक्रमणको निन्दा गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा कुनै पनि नेपाली सैनिक घाइते नभएको स्पष्ट पारिएको छ।
यद्यपि संयुक्त राष्ट्रसंघको शान्ति सेनाको केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय कानून तथा संयुक्त राष्ट्रसंघका कर्मचारीको सुरक्षासम्बन्धी सिद्धान्तको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ।

















