Logo

३० फागुन,काठमाडौं । सरकारले पेट्रोलमा ‘इथानोल’ मिश्रण गरी प्रयोग गर्ने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ।

यस आदेशमार्फत सरकारले स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवर्द्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने उद्देश्य राखेको छ।

आदेशअनुसार नेपाल आयल निगमले उपलब्धताअनुसार प्रति लिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्नेछ। आवश्यक परेमा मन्त्रिपरिषद्ले मिश्रण अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि गरिएको छ।

इथानोल उत्पादनका लागि मोलासेस, नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ, पराल, मकैको ढोड, गहुँको छ्वाली, सिमल तरुल (कास्साभा), सडेगलेको अन्न, मर्चा (यिस्ट) लगायत अन्य आवश्यक रसायन प्रयोग गर्न पाइने छ। खाद्यान्नको दुरुपयोग रोक्नका लागि खाद्यान्नका रूपमा प्रयोग हुने अन्न इथानोल उत्पादनमा प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

उद्योगहरूले प्रचलित कानूनअनुसार तोकिएका कच्चा पदार्थबाट मात्र उत्पादन गर्नुपर्नेछ र उत्पादन गरिएको इथानोल नेपाल आयल निगमलाई मात्रै बिक्री गर्नुपर्नेछ। यसले बजारलाई नियन्त्रित गर्दै इथानोलको प्रयोग पेट्रोलमा मिश्रणसम्म सीमित गर्ने नीति सुनिश्चित गर्नेछ।

आदेशमा उद्योगहरूले उत्पादन प्रक्रियामा वातावरणमैत्री उपाय अपनाउनुपर्ने, गुणस्तर मापदण्ड कायम राख्नुपर्ने र गुणस्तर परीक्षण आफ्नै प्रयोगशालाबाट गर्नुपर्ने व्यवस्था उल्लेख छ। निगमले पनि प्रत्येक ट्याङ्करको गुणस्तर परीक्षण गरेर मात्र खरिद गर्नेछ।

इथानोलको मूल्य निर्धारण सरकारद्वारा सिफारिस समितिको सुझावअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमा गरिनेछ। मूल्य निर्धारण नहुँदा अघिल्लो वर्षको मूल्य कायम रहनेछ।

नेपाल आयल निगमले इथानोल खरिदका लागि उद्योगसँग सम्झौता गर्नुपर्नेछ। उद्योगले दैनिक आवश्यक परिमाण, तोकिएको स्थान र समयमा इथानोल उपलब्ध गराउनुपर्नेछ। सम्झौतामा उल्लङ्घन भएमा प्रचलित कानूनअनुसार क्षतिपूर्ति माग गर्न सकिने व्यवस्था छ।

इथानोल ढुवानीको जिम्मेवारी उद्योगलाई दिइएको छ। अत्यधिक ज्वलनशील र पानी अवशोषण गर्ने इथानोल ढुवानी गर्दा उच्च सुरक्षा मापदण्ड अपनाउनुपर्नेछ। मन्त्रालयले सुरक्षित भण्डारण, मिश्रण र ढुवानीका लागि मापदण्ड तयार गरी लागू गर्नेछ।


सम्बन्धित समाचार