३० फागुन,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालयको आज सम्पन्न बैठकले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदहरुको अन्तिम नामावली टुंगो लगाएको छ। पार्टीले संविधानले तोकेको समावेशी सिद्धान्त तथा सामाजिक समूह (क्लस्टर) परिचालनलाई ध्यानमा राख्दै कुल १६ जना सांसद चयन गरेको जनाएको छ।
एमाले सचिवालयले जनजाति, खस–आर्य, मधेसी, दलित, थारु तथा मुस्लिम समूहलाई प्रतिनिधित्व गर्ने गरी समानुपातिक सांसदहरुको सिफारिस सार्वजानिक गरेको हो।
जनजाति समूहबाट चार जना सांसद चयन भएका छन्। महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ तथा पुरुषतर्फ रामबहादुर थापा मगर र कुलभक्त शाक्य लाई समानुपातिक सांसदमा समावेश गर्ने निर्णय भएको छ।
खस–आर्य समूहबाट सबैभन्दा धेरै पाँच जना सांसदको नाम टुंगो लागेको छ। यस समूहअन्तर्गत महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल छन् भने पुरुषतर्फ गुरु प्रसाद बराल र पुष्पराज कंडेल को नाम जुराइएको छ।
मधेसी क्लस्टरबाट तीन जना प्रतिनिधित्व सुनिश्चित गरिएको छ। महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव चयन भए भने पुरुषतर्फ चन्द्रेश्वर मण्डल को नाम तय भएको छ।
दलित समूहबाट दुई महिलालाई समानुपातिक सांसदमा नियुक्त गर्ने निर्णयमा पार्टी पुगेको छ — विष्णुमाया वी.के. र नीता घटानी लाई छुट्याइएको छ।
थारु कोटाबाट पुरुषतर्फ कृपाराम राणा तथा मुस्लिम क्लस्टरबाट महिलातर्फ साजिदा सिद्दीकी को नाम अनुमोदन गरिएको छ।
एमालेले टुंगो लागेका यी नामहरु निर्वाचन आयोगमा पठाउने प्रक्रिया अघि बढाएको जानकारी दिँदै, नवनिर्वाचित सबै सांसदहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

















