३० फागुन,काठमाडौं । कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै कतारमा रहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै स्वदेश फर्किँदा अनिवार्य रूपमा पर्यटक भिसा लिन आग्रह गरेको छ।
दूतावासका अनुसार वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका र साउदी अरेबियाका विमानस्थल प्रयोग गरेर नेपाल फर्किन चाहने नेपालीहरूले साउदी अरबको पर्यटक भिसा लिनु आवश्यक हुनेछ।
भिसा प्राप्त गर्नका लागि दोहास्थित तशीर साउदी भिसा सेवा केन्द्रमार्फत अग्रिम अपोइन्टमेन्ट बुक गरेर आवेदन दिनुपर्ने दूतावासले जनाएको छ। उक्त सेवा केन्द्र एजदान मल अल घराफामा रहेको पनि दूतावासले जानकारी दिएको छ।
दूतावासले भिसा आवेदन तथा प्रक्रियासम्बन्धी थप जानकारीका लागि आवेदकहरूले सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने जनाएको छ।
साथै साउदी अरेबियाका विमानस्थल प्रयोग गरी यात्रा गर्ने नेपाली नागरिकलाई आवश्यक कागजात तथा भिसा प्रक्रिया समयमै पूरा गरेर मात्र यात्रा गर्न दूतावासले अनुरोध गरेको छ।

















