३० फागुन,काठमाडौं । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार गहिरो र सुरुङजस्तो खाल्डो बनाएर माटो खन्दै गर्दा अचानक ढिस्को खसेर निर्मला पुरिएकी थिइन्। घटनाबारे दिउँसो करिब साढे १२ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट ७ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। उद्धारको प्रयास गर्दा निर्मलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल पठाइएको छ।
उक्त घटनामा २८ वर्षीया एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। उनीहरूको निधार, ढाड र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते तीनैजनाको होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मोतीखन्ने डाँडामा माटो खन्न सात जना गएका थिए। घटनामा तीन जना भने सकुशल रहेका छन्।
















