Logo

१ चैत्र, काठमाडौं । मध्यपूर्व क्षेत्रमा चुलिँदो भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा अनिश्चितता छाएका बेला कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले दोहा–काठमाडौं रुटमा आफ्नो उडान तालिका सार्वजनिक गरेको छ ।

क्षेत्रीय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कतिपय अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले आफ्ना उडानहरू स्थगित वा मार्ग परिवर्तन गरिरहेको अवस्थामा कतार एयरवेजले १६ र १७ मार्च अर्थात चैत २ र ३ गतेका लागि दोहाबाट काठमाडौंका उडानहरू तय गरेको हो । त्यसैगरी, काठमाडौंबाट दोहाका लागि १७ र १८ मार्च (चैत ३ र ४ गते) को तालिका निर्धारण गरिएको छ, जसले गर्दा नेपालबाट बाहिरिने र नेपाल भित्रिने दुवैतर्फका यात्रुहरूलाई ठूलो राहत पुग्ने देखिएको छ ।

यस विशेष उडान तालिकाले विशेषगरी वैदेशिक रोजगारीका सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली श्रमिक, अध्ययनका लागि विदेश जाने विद्यार्थी र अन्य गन्तव्यमा जाने ट्रान्जिट यात्रुहरूका लागि सहजता प्रदान गर्नेछ । कतार एयरवेजले काठमाडौंसँगै नयाँदिल्ली, मुम्बई, ढाका, बैंकक र लन्डन जस्ता प्रमुख सहरहरूमा पनि आफ्नो सेवा सुचारु राख्ने निर्णय गरेको छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै व्यस्त ट्रान्जिट हबमध्ये एक भएकाले पनि यो हवाई सम्पर्क कायम रहनुलाई उड्डयन क्षेत्रमा सकारात्मक संकेतका रूपमा लिइएको छ ।

यद्यपि, मध्यपूर्वको अस्थिर सुरक्षा परिस्थितिका कारण उडान तालिकाहरू जुनसुकै समयमा परिवर्तन हुन सक्ने सम्भावना कायमै रहेको छ । यसैलाई मध्यनजर गर्दै एयरलाइन्सले आफ्ना यात्रुहरूलाई यात्रा तय गर्नुअघि आधिकारिक वेबसाइट, मोबाइल एप वा सम्बन्धित ट्राभल एजेन्सीमार्फत पछिल्लो जानकारी लिन र नियमित रूपमा अद्यावधिक रहन विशेष आग्रह गरेको छ ।

सुरक्षा र प्राविधिक चुनौतीका बीच कतार एयरवेजको यो सक्रियताले कठिन समयमा पनि अत्यावश्यक हवाई सम्पर्क विच्छेद हुन नदिने सन्देश प्रवाह गरेको छ ।


सम्बन्धित समाचार