१ चैत्र, काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किसोरी साहको उम्मेदवारी खारेजी सम्बन्धी विवादमा आज सर्वोच्च अदालतले महत्वपूर्ण सुनुवाइ गर्दैछ ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा यस मुद्दाको पेसी तोकिएको छ, जसले धनुषा १ को चुनावी नतिजा र त्यहाँको प्रतिनिधित्वमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ । यसअघि शुक्रबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा पेसी परेपछि उनले बिहीबार साहकै अर्को मुद्दामा आदेश दिएका कारण स्वार्थ बाझिने भन्दै मुद्दा हेर्न नमिल्नेमा राखेकी थिइन्, जसका कारण आज नयाँ इजलासमा सुनुवाइ हुन लागेको हो ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गत फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । तर, साहले आफूलाई अन्यायपूर्ण रूपमा कालोसूचीमा राखिएको दाबी गर्दै सर्वोच्चमा दुईवटा रिट दायर गरेका थिए ।
जसमध्ये एउटा रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुवेदीको इजलासले बिहीबार मात्रै साहलाई कालोसूचीबाट हटाउन आदेश दिइसकेको छ । कालोसूचीको गाँठो फुके पनि निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजीको निर्णय बदर हुने वा नहुने भन्ने विषय नै अबको मुख्य कानुनी लडाइँ बनेको छ ।

















