Logo

१ चैत,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सालको काठ बरामद गरेको छ।

आइतबार बिहान करिब ३ बजेतिर राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा काँचो सालको काठ काटी साइकलमा लोड गरी लैजाँदै गरेको सूचनाका आधारमा खटिएको प्रहरीले पर्सागढी नगरपालिका–४ बारवाटाडीस्थित आँपको बगैंचाबाट चार थान सालको काठ र दुई थान साइकल बरामद गरेको हो।

प्रहरी चौकी बढनियारका प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गस्तीका क्रममा उक्त काठ बरामद गरेको जनाएको छ। प्रहरी टोली पुगेपछि काठ तस्करीमा संलग्न व्यक्तिहरू काठ र साइकल छाडेर फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सालको काठ हाल नेपाल प्रहरीअन्तर्गतको प्रहरी चौकी बढनियारको नियन्त्रणमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ।

पछिल्लो समय वन क्षेत्रबाट हुने अवैध काठ कटानी तथा तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासनले निगरानी तथा गस्ती बढाएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्।


सम्बन्धित समाचार