Logo

१ चैत्र, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसले आफ्नो साङ्गठनिक कमजोरी र पराजयका कारणहरू खोज्न तल्लो तहसम्मै ताकेता गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयले सबै प्रदेश कार्यसमिति, जिल्ला सभापति र उम्मेदवारहरूलाई विशेष परिपत्र जारी गर्दै फागुन २१ गतेको निर्वाचन परिणामको गहिरो विश्लेषणसहितको समीक्षा प्रतिवेदन माग गरेको हो । पार्टी सदस्यहरूको ठूलो सहयोग र समर्पण हुँदाहुँदै पनि नतिजा किन प्रतिकूल आयो भन्ने विषय अब कांग्रेसका लागि गम्भीर आत्मसमीक्षाको एजेन्डा बनेको छ ।

केन्द्रीय कार्यालयले पठाएको निर्देशन अनुसार, निर्वाचनमा व्यहोर्नुपरेको हारका ठोस कारणहरू, चुनावी मैदानका अनुभव, प्राप्त सुझावहरू र आगामी दिनमा पार्टीलाई सुधार्न चालिनुपर्ने कदमहरू समेटेर चैत ३ गतेभित्रै विस्तृत प्रतिवेदन पठाइसक्नुपर्नेछ । कांग्रेसले यसपटकको निर्वाचन परिणामलाई केवल एक हारको रूपमा मात्र नलिई आगामी दिनका लागि सुधारात्मक मार्गचित्र कोर्ने अवसरका रूपमा व्याख्या गरेको छ । उम्मेदवारहरूले आफ्नो क्षेत्रमा भोग्नुपरेका चुनौती र अन्तर्घातका सम्भावित पक्षहरूबारे पनि प्रतिवेदनमा खुलाउन भनिएको छ ।

साथै, पार्टीले अनुशासनको पक्षलाई पनि उत्तिकै कडाइका साथ अघि बढाएको छ । विधान अनुसार जिल्ला र प्रदेश स्तरमा अनुशासन समितिहरू गठन भएका ठाउँबाट समितिका पदाधिकारीहरूको नामावली र सम्पर्क विवरण तत्काल पठाउन निर्देशन दिइएको छ ।

समिति गठन भई नसकेका स्थानमा तुरुन्त गठन गरी सोको विवरण पठाउन भन्दै कांग्रेसले निर्वाचनका क्रममा देखिएका अनुशासनहीन गतिविधिमाथि पनि छानबिन गर्ने संकेत गरेको छ। यो परिपत्रले निर्वाचनपछिको सुस्तता चिर्दै कांग्रेसलाई पुनः साङ्गठनिक लयमा फर्काउने प्रयास गरेको देखिन्छ ।


सम्बन्धित समाचार