Logo

१ चैत्र, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महत्वपूर्ण सचिवालय बैठक आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ ।

निर्वाचनपछिको साङ्गठनिक प्रक्रिया र संसदीय दलको स्वरूप निर्धारणका लागि यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरू भौतिक रूपमा उपस्थित भए पनि सभापति रवि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सक्नुभएन । यद्यपि, सभापति लामिछानेले ‘भर्चुअल’ माध्यमबाट जोडिएर बैठकको नेतृत्व गरिरहनुभएको जानकारी पार्टीले दिएको छ ।

आजको बैठकको मुख्य एजेन्डा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद बन्ने ५७ जना उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लगाउनु रहेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट छानिएका नामहरू बुझाउन आजसम्मको समयसीमा तोकेकाले रास्वपाले आफ्ना क्लस्टर र प्राथमिकताका आधारमा नामहरू छनोट गर्ने गृहकार्य गरिरहेको छ । प्रत्यक्ष निर्वाचनमा १२५ सिट जितेर ठूलो शक्तिको रूपमा उदाएको रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेसँगै प्रतिनिधि सभामा उसको कूल शक्ति १८२ पुग्ने निश्चित भएको छ ।

पार्टीभित्र समानुपातिक सांसदको छनोटलाई लिएर व्यापक चासो रहेका बेला सचिवालय बैठकले गर्ने निर्णयले रास्वपाको आगामी संसदीय भूमिकाको जग बसाल्नेछ । आयोगलाई नाम बुझाउनुपर्ने अन्तिम दिन भएकाले पनि बैठकमा योग्यता, समावेशिता र योगदानका आधारमा नामहरू फाइनल गर्ने प्रयास भइरहेको बुझिएको छ ।

सभापति लामिछाने प्रत्यक्ष उपस्थित हुन नसके पनि प्रविधिको प्रयोगमार्फत महत्वपूर्ण निर्णय प्रक्रियामा उहाँको सहभागिता रहेको र बैठकले आजै साँझसम्म नामावलीलाई पूर्णता दिने बताइएको छ ।


सम्बन्धित समाचार