१ चैत,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा घरायसी विवादका कारण एक महिला आफ्नै श्रीमानबाट गम्भीर घाइते भएकी छन्।
आइतबार बिहान करिब ७ बजेको समयमा पर्सागढी नगरपालिका–७ निवासी विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकला सहनीमाथि धारिलो हतियार प्रहार गरेका हुन्। घरायसी भनाभनका क्रममा उत्तेजित भई विश्वनाथले हतियार प्रहार गर्दा हरिकलाको खुट्टामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बढनियारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी टोली पुग्दा घाइते हरिकलाको खुट्टाबाट अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला परेको बताइएको छ।
प्रहरीले तत्काल प्राथमिक उपचारको व्यवस्था गर्दै एम्बुलेन्समार्फत घाइतेलाई वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ। हाल उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
श्रीमतीमाथि आक्रमण गरेलगत्तै अभियुक्त विश्वनाथ सहनी घटनास्थलबाट फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार सहनीको खोजी कार्य तीव्र पारिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तलाई चाँडै कानुनी दायरामा ल्याइने जनाएको छ।
















