१ चैत,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को निर्वाचनमा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा विजयी हुँदै राजनीतिक इतिहास रचेको छ। पर्सा–२ बाट निर्वाचित ३६ वर्षीय सुशील कुमार कानु जिल्लाका कान्छो सांसद बनेका छन्।
कानु, जो वीरगन्ज–१० वडाध्यक्ष थिए, करिब १५ महिना बाँकी रहँदै राजिनामा दिएर रास्वपाबाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका थिए। उनले राजनीतिक दिग्गज, पूर्वमन्त्री तथा तीन पटकका सांसद कांग्रेस उम्मेदवार अजय चौरसियालाई १८,८५० मतान्तरले पराजित गरे। यो मतान्तर पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका रास्वपाबाट विजयी सांसदहरूमध्ये सबैभन्दा बढी रहेको छ।
पर्सा–२ मा कानु ३०,७४० मतसहित विजयी भए भने निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अजय चौरसियाले ११,८९० मत पाएका थिए। एमाले उम्मेदवार रिमाकुमारी यादव ११,६०५ मतसहित तेस्रो स्थानमा सीमित भइन्। राप्रपा उम्मेदवार पूर्वसांसद विना जयसवालले १,९९९ मत मात्र पाए।
समानुपातिक मतमा पनि कानुले रास्वपालाई पर्सा–२ मा सबैभन्दा बढी मत दिलाए। पर्सा–२ का ९५,१२० मतदातामध्ये ६५,८७८ ले मतदान गरेका थिए। रास्वपाले समानुपातिकतर्फ ३४,९१८ मत पाउँदै जिल्लामा पहिलो दलको स्थिति कायम गर्यो।
कानु माघ ६ को मनोनयनका केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए। चुनाव प्रचार अवधिमा उनले २६ वटै वडामा पार्टीको वडा इकाई समिति, १०६ टोलमा टोल समिति र ३८ बुथमा बुथ समिति गठन गरेका थिए।
सामाजिक सेवामा पनि सक्रिय कानुले आफ्नै वडामा घडिअर्वा स्पोट्र्स क्लब मार्फत करिब २,८०० घरधुरीलाई निःशुल्क खानेपानी उपलब्ध गराएका छन्। उनले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री र पोसाक वितरण, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, युवालाई लक्षित वार्षिक क्रिकेट प्रतियोगिता आयोजना गर्ने जस्ता उल्लेखनीय काम गरेका छन्।
कानुको राजनीतिक यात्रा २०७४ मा वडाध्यक्षको चुनावमा हारसँग शुरू भए पनि पछि महानगरपालिकाको कार्यपालिका सदस्य र २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षमा विजयी हुँदै लगातार सफलता हासिल गरेको छ।
















